Odapalika - The Fourth Estate - चौथो अंग
दीर्घ र नियमित औषधि खाने ज्येष्ठ नागरिकको लगत संकलन गर्दै काठमाडौँ महानगर 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधिसम्बन्धी लगत संकलन गरिरहेको छ । 

उनीहरुलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत संकलन गरिरहेको हो । विवरण प्राप्त भएपछि ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुने विभागका प्रमुख दिपक केसीले जानकारी दिए । 

विभागले महानगरपालिकाकै पञ्जिकरण शाखाबाट गत साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ । मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोवाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरुमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । 

काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा र महानगरपालिकाभित्रै बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले पनि लिङ्क क्लिक गरेर भर्न सकिने महानगरले जनाएको छ । यस्तै आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ । 

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति छन् ।  १ सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ४७ जना रहेको छ । 

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक हुन् । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update