काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व, न्यायसहितका विषयमा प्रशिक्षण दिने भएको छ ।
प्रतिष्ठानले मधेश प्रदेशका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपप्रमुखलाई स्थानीय राजस्व, बजेट तथा कार्यक्रम तर्जुमा, योजना अनुगमन र न्यायिक समितिसम्बन्धी प्रशिक्षणमा सहभागी हुन पत्राचार गरेको छ । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना प्रविधि शाखाले जानकारी दिएको छ ।
महोत्तरीको बर्दिबासमा यही माघ १३ देखि १५ गतेसम्म तीन दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उपप्रमुखहरुलाई भनिएको हो ।
‘यस प्रतिष्ठानको स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका सबै महा/उप/नगरपालिकाका उपप्रमुखहरूका लागि स्थानीय राजस्व, बजेट तथा कार्यक्रम तर्जुमा, योजना अनुगमन र न्यायिक समिति सम्बन्धी प्रशिक्षण र संघ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा तहाँ महा/उप/नगरपालिकाका उपप्रमुखलाई निम्न मिति, स्थान र समयमा सहभागीताका लागि सादर अनुरोध छ,’ प्रतिष्ठानको पत्रमा उल्लेख छ ।