काठमाडौँ । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।
यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख आम्दानी गरेका छन् । १० वटा वडा रहेको त्रिवेणीमा १ हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।
प्रत्येक किसानले २ रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका छन् । पालिकाभर हाल १९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको छ ।
कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार ६०० क्विन्टल अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका छन् ।
व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।