Odapalika - The Fourth Estate - चौथो अंग
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास 

कैलाली । कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ । 

गत जेठवाट नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिलाई यो योजना हस्तान्तरण गरेपछि अहिले गार्ईको मल बिक्री हुन थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले खुद्रारुपमा समेत मल बिक्री थालेको छ । 

गौशालाले २० किलो र २५ किलोका पोका बनाएर प्रतिकिलो १२ रुपैयाँमा मल बिक्री थालेको छ । हाल टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशीले बताए । 

अहिले यो गौशालामा  ७६० वटा गाई छन् । गार्ईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती, फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले किलोका हिसाबले बिक्री थालिएको समितिले जनाएको छ । 

समितिका अनुसार गौशालामा रहेको गोबर ग्यासमा दैनिक चार क्विन्टलसम्म मल उत्पादन हुन्छ । यसरी बिक्रीबाट भएको आम्दानी गार्ई व्यवस्थापनमा खर्च हुनेछ ।  

गौशालामा रहेको गोबर ग्यासबाट ४ महिनायता स्थानीय ५५ घरमा ग्याससमेत वितरण भइरहेको छ । ग्यास हरेक दिन बिहान दुई घण्टा र साँझ दुई घण्टा वितरण हुने गरेको छ । 

हाल निःशुल्क उपलव्ध ग्यास असोजदेखि भने प्रतियुनिट ४५ रुपैयाँका दरले बिक्री गर्ने योजना छ । ग्यास वितरण भएका घरमा राखिएको मिटर रिडिङका आधारमा प्रतियुनिट रु ४५ लिने निर्णय भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउँछन् । 

नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गत जेठदेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफँैले खर्च गरिरहेको छ । नगरपालिकाले दिने २० लाख रुपैयाँ भने पशु सेवकमै खर्च हुने गरेको छ । 

८ जना कर्मचारी राखेर संचालन भइरहेको यो गौशालामा तलवका लागि वार्षिक  १८ लाख ५० हजारसम्म खर्च हुने गरेको छ । कर्मचारलिाई तलव दिन अपुग भएपछि निःशुल्क दिइदै आएको ग्यास बिक्रीको योजना बनाइएको समितिले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update