काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ । कांग्रेससहित दलको समर्थनमा गत असार ३१ गते ओली प्रधानमन्त्री बनेका हुन् ।
आफ्नै समर्थनमा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर ओली आफू प्रधानमन्त्री बन्न सफल भएका हुन् । तर, ओली सरकार पनि अब धेरै नटिक्ने प्रचण्डले दाबी गरेका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समय नटिक्ने बताएका हुन् । यो बताइरहँदा प्रचण्डले कांग्रेसका नेता शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेका थिए । कांग्रेसकै समर्थन बनेको ओली सरकारको भविष्यवाणी गर्दा प्रचण्डले कोइराला र भण्डारीलाई दायाँबायाँ राखेका हुन् ।
अध्यक्ष प्रचण्डले ओली सरकार प्राकृतिक, स्वाभाविक र पारदर्शी नरहेको बताउँदै धेरै समय ओली सरकार नटिक्ने दाबी गरेका हुन् ।
प्रचण्डपछि आफ्नो धारणा राखेका कांग्रेस नेता कोइरालाले राजनीतिमा जे पनि हुन सक्ने बताए । यद्यपि, उनले तत्कालै ओली सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताए । तुरुन्तै कोइरालाको अभिव्यक्तिलाई प्रष्ट्याउन खोज्दै प्रचण्डले राजनीतिमा जे पनि हुन सक्ने भन्ने अभिव्यक्तिको आशय बुझ्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि ।’