Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार 

काठमाडौँ । देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पालिकामा रहेका अस्पातलको अवस्था र ती अस्पतालबारे सरकारले लिएको नीतिसहितको विवरण ७ दिनभित्र पठाउन भनिएको हो । समितिको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर अस्पतालको विवरण उपब्ध गराउन भनिएको हो । 

अछामका सिद्धप्रसाद ढुङ्गानाले अछामको कमलबजार नगरपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि सम्झौता भई कार्य प्रारम्भ भए पनि हालसम्म सम्पन्न नभएकोले निर्माण सम्पन्नताको लागि आवश्यक पहल हुन भनी दिएको निवेदनको सम्बन्धमा समितिअन्तर्गत गठित निवेदन छानबिन, अध्ययन तथा सुझाव उपसमितिको बैठकले देशभरका सबै अस्पतालको विवरण माग्ने निर्णय गरेको हो । 

‘...अछामका सिद्धप्रसाद ढुङ्गानाले अछाम जिल्लाको कमलबजार नगरपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि संझौता भई कार्य प्रारम्भ भएतापनि हालसम्म सम्पन्न नभएकोले निर्माण सम्पन्नताको लागि आवश्यक पहल हुन भनी दिएको निवेदनको सम्बन्धमा यस समिति अन्तर्गत गठित निवेदन छानविन, अध्ययन तथा सुझाव उपसमितिको मिति २०८१ पुष १८ गतेको बैठकले देशभरका पालिकाहरुमा रहेका यस प्रकारका अस्पतालहरुको विद्यमान अवस्था कस्तो छ, के कति अस्पतालहरु सम्पन्न भई सुचार भएका छन् र के कति अस्पतालहरु अधुरा रहेका छन्, सम्पन्न नभएका अस्पतालहरुको सम्बन्धमा सरकारले के नीति लिएको छ सोको समेत विवरण तथा जानकारी ७ दिनभित्र माग गरी अध्ययन गर्ने भनी निर्णय गरेकोले उपसमितिको निर्णय बमोजिमको विवरण ७ दिनभित्र उपलब्ध गराईदिनुहुन निवेदनको फोटोकपी समेत संलग्न गरी तेहा पठाइएको व्यहोरा अनुरोध गर्दछु,’ समितिले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । 

सोही पत्रका आधारमा मन्त्रालयले पनि देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर विवरण बुझाउन भनिएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update