काठमाडौँ । धरान उपमहानगरपालिकामा भएको खानेपानीको समस्या समाधान गर्न भन्दै मेयर मेयर हर्कराज राई (हर्क साम्पाङ) मंगलबार देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छिरे । उनी रित्तो गार्गी लिएर जान चाहन्थे । तर, प्रहरीले बाहिर नै गार्गी लियो । गार्गी लान नपाए पनि खानेपानीको समस्या बोकेर उनी सिंहदरबार छिरे । विभागीय खानेपानी मन्त्रालयमा उनी पुगे । मन्त्री प्रदीप यादवलाई धरानवासीलाई काकाकुलबाट बचाउन खानेपानीको समस्या समाधान गर्न मेयर हर्कले आग्रह गरे ।
धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए ।
धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने मन्त्री यादवले मेयर हर्कलाई वचन दिए ।
टेन्डर आह्वान गरेको सूचनाको पत्र बोकेर आफू धरान आउने बताउँदै मन्त्री यादवले मेयर हर्कलाई खुसीसाथ धरान फर्कन आग्रह गरे । मेयर हर्कलाई खानेपानी समस्या समाधानका लागि अन्यत्र पनि जानुनपर्ने सुझाव पनि मन्त्री यादवले दिए ।