काठमाडौँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् ।
धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् ।
पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रुपमा मात्र हेरेर व्यवसायीकरण गर्दै अशास्त्रीय कार्यलाई पनि शास्त्र हो भन्दै अयोग्य व्यक्ति पनि आफूलाई तडकभडकको आधारमा प्रवक्ता बनेर हिँड्ने क्रम बढेकाले कथावाचकलाई प्रमाण पत्र दिने व्यवस्था गर्न लागिएको हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए ।
यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्नेछ । विसं २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ ।