काठमाडौँ । नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
एमालेको सचिवालय बैठकले आगामी माघदेखि चैतसम्म वडामा पुगेर अभियान चलाउने निर्णय गरेको हो । यो अभियानमा संगठन निर्माणमा ध्यान केन्द्रीत गरिने एमालेका नेताहरुले बताएका छन् ।
बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको छ ।
एमाले सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ ।
बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने र पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।