काठमाडौँ । अहिले नेपालमा २० वटा वाणिज्य बैंक संचालनमा छन् । यी बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुस मसान्तसम्ममा साढे २७ अर्ब रुपैयाँ नाफा गरे ।
अर्थतन्त्र सुस्ताएको छ । शहर बजारका पसलमा सामान होइन, पसल नै विक्रीमा छन् । नेपालीको लामो लाइन देख्न पाइने भनेको विदेश जानको लागि एयरपोर्टमा मात्रै हो । उद्योगधन्दा क्षमता अनुसारको उत्पादन गर्न सकिरहेका छैनन् । सेयर बजार मापक नेप्से परिसुचक २५ सयको विन्दु वरिपरी लुकामारी खेलिरहेको छ । घरजग्गा कारोबार ठप्प भएर घडेरीमा गरिएको लगानी माटो सरह भएको छ ।
यस्तो बेलामा २० वटा वाणिज्य बैंकहरुले ६ महिनामा २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको तथ्यांक सार्वजनिक भएको छ । बैंकले खाए, लुटे, सिध्याए, अकुत कमाए, मिटरव्याजीको भन्दा चर्काे व्याज लिए भन्नेहरुका लागि २० वटा बैंकले ६ महिनामा साढे २७ अर्ब कमाएको साच्चै नै धेरै हो जस्तो लाग्न सक्छ ।
तर, तथ्य अर्काे पनि छ । यी २० वाणिज्य बैंकमा करिब ४०० अर्ब रुपैयाँ लगानी भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुमा ३ खर्ब ८४ अर्ब ९२ करोड ८१ लाख ९३ हजार रुपैयाँ लगानी गरिएको छ । यसको औसतमा ३० प्रतिशतभन्दा बढी लगानी त सर्वसाधारणकै छ ।
बढी नाफा खाए भनेर धेरैको आँखा लाग्ने गरेपनि बैंकहरुको नाफा भने निरन्तर घट्दो क्रममा देखिन्छ । जस्तो कि गत आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेका थिए । यसरी हेर्दा २०८० सालको पुस मसान्तको तुलनामा २०८१ सालको पुस मसान्तमा वाणिज्य बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको छ ।
बैंकहरुले व्याजबाट गर्ने आम्दानी घटेको र उनीहरुले दिएको कर्जा नउठेपछि त्यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्दा नाफा घटेको हो । २०८० सालको पुस मसान्त र २०८१ को पुस मसान्तमा बैंकहरुले गरेको खुद व्याज आम्दानीको तथ्यांक तुलना गर्दा यसको पुष्टी हुन्छ ।
जस्तो कि यसपालिको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ९२ अर्ब २१ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरे । जबकि, अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले ९६ अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
यसपालि बैंकहरुको व्याज आम्दानी घटेको मात्रै होइन, दिएको ऋणको न साँवा व्याज उठ्यो, न त किस्ता नै आयो । यस्तो हुँदा बैंकहरुको खराब कर्जा बढ्यो । बैंकहरुले दिएको कर्जाको साँवा व्याज समयमै उठेन वा निश्चित समयमा किस्ता आउन छोड्यो भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ ।
२०८१ को पुस मसान्तमा बैंकहरुको खराब कर्जा औसतमा ४.४९ प्रतिशत पुगेको छ । यो भनेको कुनै बैंकले १ अर्ब रुपैयाँ ऋण दिएको छ भने उसको साढे ४ करोड रुपैयाँ खराब कर्जा भयो । तर, २०८० को पुस मसान्तमा बैंकहरुको खराब कर्जा ३.४ प्रतिशत मात्रै थियो । एक वर्षको अवधिमा बैंकहरुको खराब कर्जा १ प्रतिशतभन्दा पनि धेरैले बढेको छ ।
अब कुरा गरौं कुन बैंकले कति नाफा गरे भन्ने बारेमा ।
२०८० पुस मसान्त वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेका छन् । २०८० सालको पुस मसान्तसम्ममा उनीहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको छ ।
बैंकहरुले गरेको नाफा अर्बमा देखिन्छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने निकै कम छ । त्यसैले सेयरधनीका नजरबाट हेर्यो भने नाफा अर्बमा देखिए पनि सयमा प्रतिफल पाउन पनि हम्मे हम्मे छ ।
जस्तो कि नविल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । तर, नविलले सेयरधनीलाई बाँड्न मिल्ने रकम भने १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।
ग्लोबल आइएमई बैंकले ६ महिनामा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमईले सेयरधनीलाई बाँड्न मिल्ने रकम भने २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने रकम भने २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँले ऋणात्मक छ । अर्थात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले थप २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँभन्दा बढी नाफा गर्यो भने मात्रै उसले सेयरधनीलाई लाभांश वितरण गर्न सक्छ ।
एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । एभरेष्टले सेयरधनीलाई बाँड्न मिल्ने रकम भने २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ छ । वाणिज्य बैंकहरुमध्ये वितरणयोग्य नाफा सबैभन्दा बढी भएको बैंक एभरेष्ट नै हो ।
एनएमबि बैंकले २ अर्ब ३५ लाख रुपैयाँ नाफा गरेको छ । तर एनएमबीले सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ मात्रै छ ।
प्राइम कमर्शियल बैंकले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा गरेको छ । सो बैंकको सेयरधनीलाई बाँड्न मिल्ने नाफा रकम १ अर्ब ८४ करोड १७ लाख रुपैयाँ छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । जबकि उसको सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ अर्ब १३ करोड ९० लाख रुपैयाँ छ ।
हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । तर, यो नाफाबाट हिमालयनले सेयरधनीलाई प्रतिफल दिन सक्दैन । किनभने उसले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा रकम ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँले ऋणात्मक छ । अर्थात ऋणात्मक रहेको रकम धनात्मक भएपछि सोभन्दा बढी जति हुन्छ त्यति मात्रै सेयरधनीलाई वितरण गर्न सकिन्छ ।
प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । प्रभुले नाफा गरेको देखिए पनि उसको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम भने ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँले ऋणात्मक छ ।
सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । तर सानिमाले सेयरधनीलाई वितरण गर्न सक्ने रकम भने १ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ छ । सेयरधनीका लागि सानिमाको पुस मसान्तको वित्तीय विवरण सुखद देखिन्छ ।
लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । तर, सो बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने रकम भने ३६ करोड ८५ लाख रुपैयाँ मात्रै छ ।
कृषि विकास बैंकले ९५ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । तर, कृषि विकास बैंकले सेयरधनीलाई १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ वितरण गर्न सक्ने अवस्था छ । विगतका दिनमा रिजर्भमा राखिएको रकमका कारण केही बैंकको चालु आर्थिक वर्षको नाफाभन्दा वितरणयोग्य रकम बढी देखिएको हो ।
नेपाल एसबिआई बैंकले ९० करोड रुपैयाँ नाफा गरेको छ । तर, सो बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने रकम भने १ अर्ब २० करोड ७० लाख रुपैयाँ छ ।
माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ । तर, माछापुच्छ्रे बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने रकम भने १६ करोड ६२ लाख रुपैयाँ छ ।
राष्ट्रिय वाणिज्य बैंकले ७६ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सो बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २५ करोड ९१ लाख रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकको अधिकांश सेयरको मालिक सरकार हो । त्यसैले नाफा भए पनि नोक्सान भएपनि यसको प्रत्येक्ष लाभ पाउने सेयरधनी सरकार नै हो ।
सिटिजन्स बैंक इन्टरनेसनलले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । तर सो बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने रकम भने १५ करोड ८१ लाख रुपैयाँ छ ।
सिद्धार्थ बैंकले ५३ करोड रुपैयाँ खुद नाफा गरेको छ । सो बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ३६ करोड १९ लाख रुपैयाँले ऋणात्मक छ ।
सरकारको पनि लगानी रहेको नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । नेपाल बैंकसँग सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा रकम भने ६० करोड ७१ लाख रुपैयाँ छ ।
कुमारी बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । सो बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने रकम भने ६ अर्ब ४७ करोड ७६ लाख रुपैयाँले ऋणात्मक छ ।
केही वर्ष अघि नेपालको बैंकिङ क्षेत्रमै तहल्का मच्चाएको एनआईसी एसिया बैंक अब छायामा पर्न लागेको छ । एनआइसीले चालु आर्थिक वर्षको ६ महिनामा १५ करोड १७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । सो बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने रकम पनि २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँले ऋणात्मक छ ।
बैंकहरुले गरेको खुद नाफा र देखिएको वितरणयोग्य नाफा चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अपरिष्कृत वित्तीय विवरणका आधारमा हो । वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन । एक त अहिले प्रकाशन भएको भनेको अपरिष्कृत वित्तीय विवरण हो । अन्तिम लेखापरीक्षणमा यो तथ्यांक तलमाथि हुन सक्छ । अर्काे कुरा, किस्ता नियमित भयो, धितो लिलामी भएर कर्जा असुल भयो भने वितरणयोग्य नाफा बढ्छ । र, अहिले नियमित भएको किस्ता रोकियो वा कर्जा असुलीमा समस्या देखियो भने अहिले बढी देखिएको वितरणयोग्य नाफा घट्छ ।