Odapalika - The Fourth Estate - चौथो अंग
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक—धुलिखेल सडक दैनिक ५ घण्टा रोक्न गरिएको प्रस्ताव सम्बन्धित स्थानीय तहहरुका मेयरहरुले अस्वीकार गरेका छन् ।

सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।

सडक निर्माण आयोजनाले सो सडकखण्डमा पर्ने स्थानीय तहका प्रमुखहरुसँगको छलफलमा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । मेयरहरुले सडक बन्द गर्नेृ आयोजनाको प्रस्तावप्रति विमती राख्दै सडक निर्माणमा तीब्र गतिमा गर्न आग्रह गरे । उनलेहरुले साँगामा निर्माण कार्य छिटो गर्न आग्रह गरेका हुन् ।

राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने मेयरहरुको भनाइ छ । 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताए । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उनले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने धारणा राखे ।

आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने धारणा राखे । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उनको सुझाव छ ।

धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्नेगरी गर्नुपर्ने बताए । सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्ने उनको भनाइ छ ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्ने धारणा राखे । 

सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो । 

२०७९ साल पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update