Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा 

काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गरेकोे योगदानको चर्चा गर्दै उनको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो । यसपालिको सहिद सप्ताहको सुरुमा काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले शास्त्रीको शालिकमा पुष्पगुच्छ अर्पण गरेर सुरु गरेकी हुन् ।

‘इतिहास स्मरण गरेर वर्तमान सम्हाल्ने र पुस्तालाई असल संस्कार पुस्तान्तरण गर्नु हामी सबैको दायित्व हो । शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइ हो,’ उपमेयर डंगोलले भनिन् ।

नेपाल भाषाको व्याकरणलाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीका वहुआयामिक व्यक्तित्वको कुरा गर्दै डंगोलले, नेपाल, नेपाली, अंग्रेजी, संस्कृतसहितका भाषाको अध्ययन गरेकोले शास्त्रीमा शिक्षामार्फत सचेतना वृद्धि गर्ने हुटहुटी रहेको उल्लेख बताइन् । यस्तै, वडा नं. १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले सहित सप्ताह कार्यक्रमलाई विद्यालयस्तरमा लानुपर्ने धारणा राखे ।

‘उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । कार्यक्रमलाई विद्यालयस्तरमा लैजाऔँ । एक दिन सहिद सम्झिएर पुग्दैन,’ मन्तव्यका क्रममा वडाध्यक्ष महर्जनले भने ।

नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले नागरिकमा शिक्षाको चेतना भर्न सकिए राजनीतिक चेत पनि बढ्छ भन्ने विश्वास शास्त्रीमा रहेको बताए ।

‘शास्त्रीले राजनीतिक आन्दोलन गर्नुभएको थिएन । तर उहाँलाई, नागरिक शिक्षित भए भने स्वतन्त्रताका बारेमा कुरा बुझेर राजनीतिक व्यवस्था बुझ्न सक्ने हुन्छन् भन्ने लागेको थियो । यसैका लागि उहाँले शैक्षिक, धार्मिक र सामाजिक क्रियाकलापमा आफूलाई समर्पण गर्नुभएको थियो,’ अध्यक्ष डा. उपाध्यायले भने ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ । 

महानगरपालिकाले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक बनाएर उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । 

यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । त्यहाँ स्मृति सभा आयोजना हुनेछ । 

सहिद शास्त्रीको संक्षिप्त चिनारी

१९५० सालमा बनारसमा शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए ।

सोही क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए ।

धार्मिक गतिबिधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा शास्त्रीले १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गरेका थिए । राणाको बिरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो । 

जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासन व्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update