Odapalika - The Fourth Estate - चौथो अंग
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो 

काठमाडौँ । मृत्यूमार्ग जस्तै बनेको सिद्धबाबा सुरूङमार्ग छेडिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म १ हजार १२६ मिटर लामो सुरूङमार्ग निर्माण सकिएर छेडिएको (ब्रेकथ्रु) भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा ब्रेक थ्रु गरिएको हो। सुरुङमार्गको ब्रेकथ्रु गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

सुरूङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवल सम्म ल्याउन सहज पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुरूङमार्ग निर्माण कार्य अगाडि बढाएको थियो।

सुरूङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तीन वटा बाइपास सुरूङ राखिएको छ। 

२०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको सुरूङमार्गको निर्माण कार्य करिब ४० प्रतिशत पूरा भएको छ। सुरूङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।

सुरूङमार्ग निर्माणका लागि २०७७ साल मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेपछि २०७८ साल जेठ ९ गते सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो।

सुरूङमार्गपछि दक्षिणतर्फको पोर्टलदेखि बुटवल चिडियाखोलासम्म ९१० मिटर र उत्तरतर्फको पोर्टलदेखि पाल्पाको दोभानतर्फ ५६० मिटर सडक दुई लेनमा निर्माण हुने छ। यही आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउन विभिन्न प्रविधिहरु प्रयोग गरी संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।

आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुइटा आकस्मिक हेलिप्याड र दुइटा प्राविधिक भवन निर्माण हुने छन्।

यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update