Odapalika - The Fourth Estate - चौथो अंग
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई

काठमाडौँ । झुटो विवरणका आधारमा नागरिकता लिएर सगरमाथा आरोहणदेखि एमालेको सक्रिय राजनीति गरिरहकी इलामकी युवन्तिका राईले नेपालको कानुनदेखि लिएर स्थानीय सरकारसम्मलाई एकपछि अर्को गुमराहमा राखेको खुलेको छ । 

सगरमाथा आरोहण गर्ने भन्दै उनले इलाम नगरपालिकाबाट २०७८ सालमै झुटो परिचय देखाएर २ लाख रुपैयाँ लगेको खुलेको छ । 

इलामका सबै स्थानीय तहमा सगरमाथा चढ्ने नाममा सहयोग गर्न निवेदन दिए पनि उनले आफ्नै दाबी गरेको सुर्योदय नगरपालिकाले भने रकम दिएन । 

उनले झुटो विवरण दिएर नागरिकता बनाएको, झुटकै सहारामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि गुमराहमा पारेको तथा झुटकै सहयोगमा नेकपा एमालेका नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाईमार्फत सिंगो एमाले पार्टी प्रयोग गरेको तथ्यसहितको समाचार यसअघि वडापालिकाले प्रकाशन गरेको थियो ।

वडापालिकाले समाचार प्रकाशन गरेको लामो समयपछि युवन्तिकाले सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै वडापालिकाले ‘आधारहिन र दुर्भावनापूर्ण आरोपहरु लगाएको’ बताएकी छिन् । उनले आफ्नो स्ट्याटसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि समेट्ने फेसबुक पेज बालकोट, प्रधानमन्त्री ओलीको सचिवालयको नाममा खोलिएको फेसबुक पेज र प्रेस काउन्सिल नेपालको आधिकारिक फेसबुक पेजलाई ट्याग गरेकी छन् । उद्यपि, उनले सो समाचार खण्डन गर्न भने पठाएकी छैनन् ।

‘म स्वयं यस्तो गैरजिम्मेवार पत्रकारिताको शिकार भएको छु । वडापालिका नामक सञ्चार माध्यमले मेरो व्यक्तिगत फोटो मेरो अनुमतिबिना मात्र प्रयोग गरेन, तथ्यहरूलाई तोडमोड गरी मलाई र मेरो परिवारलाई आधारहीन र दुर्भावनापूर्ण आरोपहरूसँग जोड्यो,’ अंग्रेजी भाषामा युवन्तिकाले लेखेको स्ट्याटसको आशय छ ।

उनले थप लेखेकी छिन् –‘तिनीहरूले मेरो चरित्रलाई गलत रूपमा प्रस्तुत गरे र प्रमाणित नभएका दाबीहरूलाई सनसनीपूर्ण बनाउँदै विवाद सिर्जना गर्न खोजे । मेरो निजी जीवनमा गरिएको यो अवाञ्छित हस्तक्षेपले मलाई गहिरो मानसिक पीडा दिएको छ, मेरो प्रतिष्ठामा दाग लगाएको छ, र सबैभन्दा दुःखद कुरा, मेरो दिवंगत परिवारका सदस्यहरू र दाजुभाइ बहिनीहरूको मर्यादालाई आफ्नो रिपोर्टिङमा तानेको छ ।’

इलामको सूर्याेदय नगरपालिका १० फिक्कलकी युवन्तिका राईले आफू चितवनको भएको भन्दै झुटो विवरण दिएर २०६८ सालमा चितवनबाट नक्कली बाबुआमा बनाएर नागरिकता प्रमाणपत्र लिएकी छिन् । 

यस्ता छन् युवन्तिकाका झुटका श्रृंखला

झुट नम्बर–१ः नागरिकता फ्रड 

इलामको सूर्याेदय नगरपालिका–१० की युवन्तिका राई नागरिकता बनाउने समयमा युवन्तिका तामाङ बनिन् । यसका लागि उनले नयाँ बाबुआमा बनाइन् ।

२०६६ सालतिर काठमाडौँ आएकी युवन्तिका त्यतिबेला १४÷१५ वर्षकी थिइन् । काठमाडौँ आएर उनी होटलमा वेटरको काम गर्थिन् ।

२०६८ सालको कुरा हो– मैतीदेवीको पोटला रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी युवन्तिकाको भेट चितवनको तत्कालिन कठार गाविस–९ का किशोर तामाङसँग हुन्छ । 

किशोर तामाङ म्यानपावर एजेन्ट हुन् । उनकै सल्लाहमा युवन्तिका विदेश जाने योजनामा पुग्छिन् ।

तर, युवन्तिकासँग नागरिकता हुँदैन । नागरिकता नबनाइ पासपाटेर्ट बन्दैन । पासपोर्ट नबनी बिदेश जान पाइदैन  । 

नागरिकता बनाउन युवन्तिका इलाम पुग्छिन् । इलामा पुगेपछि बल्ल थाहा हुन्छ– उनका बाबु प्रकाश राईले नै नागरिकता बनाएको हुँदैन । बाबुकै नागरिकता नभएपछि उनको बन्ने कुरै भएन । हो यही बिन्दुबाट  सुरु हुन्छ युवन्तिकाको झुटको श्रृंखला ।

युवन्तिका र किशोर तामाङ झुटा विवरण दिएर नागरिकता बनाउने बाटोमा लाग्छन् । किशोरले आफ्ना बाबुआमालाई युवन्तिकाको बाबुआमा बनाएर नागरिकता दिलाई दिन्छन् । 

कानुनी प्रक्रिया पूरा गरेर युवन्तिकाले २०६८ भदौ २८ गते बंशजको आधारमा नागरिकता लिन्छिन् । नागरिकतामा बाबु छविलाल तामाङ र आमा लक्ष्मीमाया तामाङको नाम रहन्छ । 

अब कानुनी रुपमा उनको जन्मस्थान– कठार गाविस–९, चितवन भयो । किशोर तामाङ उनका दाजु भए । यो हो युवन्तिकाको सबैभन्दा पहिलो र डरलाग्दो झुट ।

झुट नम्बर–२ नक्कली राहदानी 

युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता बनाइन् । उनको ठेगाना झुटो भयो, बाबुआमा झुटा भए र उनको थर पनि झुटो भयो । किनभने उनी युवन्तिका राई थिइन् ।  युवन्तिका तामाङ हूँ भनेर नागरिकता बनाइन् ।

यही झुटो विवरणका आधारमा बनेको नागरिकता देखाएर उनले पासपोर्ट बनाइन् । पासपोर्टमा नाम पनि युवन्तिका तामाङ नै रह्यो । झुटो विवरणका आधारमा पासपोर्ट बनाएर उनी विदेश गइन् । 

झुट नम्बर–३  ठेगाना ढाँटेर उठाइयो चन्दा 

युवन्तिकाले आफूलाई इलामको बासिन्दा दाबी गरिन् । जबकि उनी आफैले आफू चितवनको कठार–९ की युवन्तिका तामाङ भएको भन्दै नागरिकता बनाएकी थिइन् । आफूलाई चितवनको स्थायी बासिन्दा भएको विवरण दिएर नागरिकता र पासपोर्ट बनाएकी युवन्तिकाले इलामको सूर्याेदय नगरपालिका–१० फिक्कलकी हूँ भन्दै इलामका १० वटै स्थानीय तहसँग सगरमाथा चढ्न सहयोग मागिन् । 

अर्थात, युवन्तिकाले संघीय सरकार मात्रै होइन, स्थानीय सरकारलाई पनि झुटो विवरण लिएर लाभ प्राप्त गरिन् ।

झुट नम्बर–४  सर्वाेच्च शिखर सगरमाथामाथि बेइमानी 

युवन्तिकाले झुटो विवरण दिएर बनाएको नागरिकताको आधारमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिन् । उनले नेपाली नागरिकको हैसियतमा सगरमाथा आरोहण गरेकी हुन् । जबकि उनले झुटो विवरण दिएर नागरिकता बनाएकोले उनको नागरिकता नै झुटो हुने भयो । यस्तो अवस्थामा उनको नागरिकता कायम हुदैन । झुटो विवरणको आधारमा तयार गरेको नागकिरताका आधारमा सगरमाथा पुगेपछि उनको यो आरोहणको बैधानिकता पनि कायम नहुने नै भयो । यो हिसावले उनले देशलाई मात्र होइन सगरमाथामाथि समेत बेइमानी गरिन् ।

झुट नम्बर–५   कर छल्न क्लाइम्बिङ गाइड 

युवन्तिकाले क्लाइम्बिङ गाइड हुँ भनेर सगरमाथा आरोहण गरिन्, जबकि उनी क्लाइम्बिङ गाइड नै होइनन् । गाइडको रुपमा जादा शुल्क कम लाग्छ । युवन्तिकाले एस्ट्रेक इको–एभरेष्ट एण्ड सिचुआन एक्मी एक्स्पिडिसन २०२२ नामक पर्वतारोही दलबाट सगरमाथाको आरोहण गरेकी थिइन् । राजस्व छलि गर्ने उद्देश्यले उनी क्लाइम्बिङ गाइडको रुपमा सगरमाथा चढिन् । फेरि देश र सगरमाथामाथि बेइमानी गरिन् ।

झुट नम्बर–६ एमाले र युवा संघलाई पंगु 

युवन्तिकाले एमाले भातृ संस्था राष्ट्रिय युवा संघलाई पनि ढाँटेकी छन् । उनको घर सूर्याेदय नगरपालिका–१० हो भने उनी युवन्तिका राई हुन् । र, युवन्तिका तामाङ हुन भने उनको ठेगाना चितवनको कठार हो । तर, उनले इलाम नगरपालिका–१० फिक्कल घर भएको र नाम युवन्तिका तामाङ हो भन्दै  युवा संघको केन्द्रीय सदस्य बनिन् । युवासंघ र एमालेले उनको यो बठ्याइको पत्तो नै पाएन । 

झुट नम्बर–७ अध्यागमनलाइ चक्मा 

युवन्तिकाले झुटो विवरणको आधारमा बनाएको पासपोर्ट बोकेर विदेश गइन् । नेपाल हुँदै बिदेशका अध्यागमन कार्यालय र सम्वनिधत देशसमेतलाई उनले नमज्जाले झुट बोलिन् । 

युवन्तिकाले यसरी झुटमाथि झुट बोलेर फाइदा लिएपनि एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको झुटबारे जानकारी पाउन सकेका छैनन् । किनभने युवन्तिका अझै पनि आफूलाई प्रधानमन्त्री ओली निकट भनेर चिनाउन अनेक हर्कत गरिरहेकी छिन् । एमाले अध्यक्ष ओली अन्य विषयमा मौन रहन सके पनि झुट बोल्ने, देशमाथि गद्दारी गर्ने र राजस्व छलि गर्नेविरुद्ध निर्मम हुन्छन् भनेर उनी निकट बताउँछन् ।

झुट नम्बर ८– गलत विवरण दिएर इलाम नगरपालिकाबाट सहयोग

युवन्तिकाले आफू इलामको चेली भएको र सगरमाथा आरोहण गर्न लागेको भन्दै इलामका स्थानीय तहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरेकी थिइन् । तर, उनले झुटो विवरण दिएर नागरिकता बनाएकोले न उनी इलामको थिइन, न त नेपाली नागरिक नै ।

झुटो विवरण दिएर चितवन स्थायी ठेगाना हो भन्दै नागरिकता बनाएकी युवन्तिकाले आफू इलामको नागरिक हो भन्दै इलाम नगरपालिकाबाट २ लाख रुपैयाँ लिएको तथ्य खुलेको छ । उनले आर्थिक वर्ष २०७८÷७९ मा सगरमाथा आरोहणको लागि सहयोग भन्दै सो रकम लिएकी हुन् ।

यद्यपि, सगरमाथा आरोहण गर्ने बेलामा उनी क्लाइम्बिङ गाइडको रुपमा आरोहण गरेकी थिइन् भने उनको ठेगाना इलाम हो भने उनको नाम युवन्तिका राई हुनुपर्ने थियो । तर, उनको नागरिकतामा चितवनको कठार गाविस–९ स्थायी ठेगाना उल्लेख थियो भने नाम युवन्तिका तामाङ थियो । इलाम नगरपालिकाबाट २ लाख रुपैयाँ लिन उनले आफ्नो नाम युवन्तिका तामाङ नै रहेको उल्लेख गरेकी छिन् । 

किन दिएन उनकै पालिकाले ?

युवन्तिकाले सगरमाथा आरोहण गर्नको लागि भन्दै इलामका सबै स्थानीय तहलाई आर्थिक सहयोग गर्न पत्राचार गरिन् । इलाम नगरपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पुष्टी भइसकेको छ । र, पुष्टी भएको अर्काे कुरा के छ भने उनकै जन्मस्थान भनिएको सूर्याेदय नगरपालिकाले भने युवन्तिकालाई आर्थिक सहयोग गरेन । 

युवन्तिकालाई आर्थिक सहयोग गर्न तयार भएपनि उनको नागरिकतामा कैफियत देखिएको र उनलाई सहयोग गर्ने शिर्षक पनि नभेटिएको भन्दै सूर्याेदय नगरपालिकाले आर्थिक सहयोग नगरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update