Odapalika - The Fourth Estate - चौथो अंग
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । 

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि ७ लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ५ लाख ५० हजार र पशुपंक्षी तथा माछाको बिमा प्रिमियम शुल्कमा १० प्रतिशत अनुदान दिन १ एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । 

उक्त अनुदान पाउन ३० बाख्रा र १९ वटा गाईभैँसी फार्मले आवेदन पेस गरेका थिए । नगरले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएर कार्यान्वयनमा ल्याएको छ ।  

बाख्रातर्फ १० देखि १४ वटा पाल्नेको  १२ हजार, १५ देखि १९ को रु १८ हजार, २० देखि २९ को ३५ हजार र ३० भन्दाबढीको ४० हजार रुपैयाँ अनुदान पाउने व्यवस्था छ।

गाईभैँसीतर्फ तीनदेखि चार वटा पाल्नेको १० हजार, पाँचदेखि आठ वटाको रु २० हजार, ९ देखि १३ वटाको ३५ हजार र १४ भन्दाबढीको ४५ हजार रुपैयाँ अनुदान पाउने मापदण्ड छ ।

गत वर्ष ३२ जना बाख्रापालक कृषकले ६ लाख ४४ हजार ९८९ रुपैयाँ र १८ जना दूग्ध उत्पादक कृषकले ५ लाख रुपैयाँ अनुदान पाएका थिए । 

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउँछिन् ।  कृषि क्षेत्रमा आत्मनिर्भर हुन किसान केन्द्रित विविध कार्यक्रमलाई जोड दिएको बेनी नगरपालिका–४ सिङ्गामा चिस्यान गृह सञ्चालन गरिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update