काठमाडौँ । पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती र ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ कार्यक्रम सञ्चालनमा ल्याई यी ३ वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको हो ।
जिल्ला अस्पतालमा आई उपचार गराउन नजिकैको स्वास्थ्य संस्थाले सिफारिस गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्दा अन्य फिदिम नगरवासीले भने १० प्रतिशत छुट पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
एकै समयमा एकभन्दा बढी स्थानबाट यी ३ वर्गका बिरामी अस्पताल जानुपर्ने भए बिरामीले अन्य एम्बुलेन्स प्रयोग गर्न सक्नेछन् । अन्य एम्बुलेन्स प्रयोग गरेबापत नगरपालिकाले भाडा उपलब्ध गराउने व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताए ।
नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा १० हजार रुपैयाँ मृत्यु संस्कार खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘विपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड–२०८१’ स्वीकृत तथा लागू गरी यो व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिए ।
उक्त सहायता इच्छुकले मात्रै लिन सक्ने नगरपालिकाले जनाएको छ । यो व्यवस्थापछि मृत्यु दर्ता समयमै हुने पनि नगरपालिकाको अपेक्षा छ । अहिले समयमा मृत्यु दर्ता हुन नसक्दा नगरपालिकाले तथ्याङ्कीयलगायत विभिन्न क्षेत्रमा समस्या भोग्नुपरेको उनको भनाइ छ ।
नगरपालिकाले नगरभित्र सञ्चालन हुने मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायतका लागि आर्थिक सहायता माग गर्दा नगरपालिकालाई प्रवद्र्धक वा मुख्य प्रवद्र्धकका रुपमा राखेमा नगर कार्यपालिकाको बैठकबाट सहायता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।