काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीको अभियोग लागेयता कम्तिमा पनि २ करोड २५ लाख रुपैयाँ प्राप्त गरेको खुलासा उनकै पार्टीका कार्यवाहक प्रवक्ताले गरेका छन् ।
कार्यवाहक प्रवक्ता मनिष झाले विविसी नेपाली सेवालाई दिएको एक प्रतिक्रियामा सभापति लामिछानेले ठगीको अभियोग लागेपछि कम्तिमा पनि २ करोड २५ लाख रुपैयाँ प्राप्त गरेको खुलासा गरेका हुन् ।
विविसी नेपाली सेवाको अनलाइन संस्करणले बुधबार विहान प्रकाशन गरेको ‘रवि लामिछानेले कहाँबाट बुझाए २ करोड रुपैयाँभन्दा बढी धरौटी, ब्याङ्क ग्यारेन्टी के हो ?’ शीर्षकको समाचारमा पार्टीको कार्यवाहक प्रवक्ता झाको प्रतिक्रिया राखिएको छ । सो समाचारमा झाले सभापति लामिछानेमाथि अभियोग लागेपछि अदालतले ‘धरौटी माग्न पनि सक्ने’ आकलन गर्दै क्राउड फन्डिङबाट रकम जम्मा गरिएको बताएका छन् ।
विविसी नेपाली सेवाको समाचारमा भनिएको छ– ‘लामिछानेले भने ब्याङ्कमा जम्मा भएकै रकम धितोको रूपमा राखेको रास्वपा प्रवक्ता झाले बताएका छन् । ‘‘राज्यले दुख दिने डरले हाम्रा कतिपय सहयोगी र शुभेच्छुक साथीहरू बाहिर खुल्न चाहँदैनन् । तर सबै रकम ब्याङ्किङ प्रणालीबाटै जम्मा गरिएको छ,’’ उनले भने ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा न्यायिक निरुपण प्रक्रियामा रहेका रास्वपा सभापति लामिछानेलाई अहिलेसम्म ३ वटा जिल्ला अदालतले गरी २ करोड २५ लाख रुपैयाँको धरौटी मागेको छ । कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौँ जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी मागेको छ । अदालतले मागेको यो धरौटी लामिछानेले आफूमाथि लागेका अभियोगका बारेमा थुना बाहिर बसेर नै कानुनी लडाई लड्न पाउने भन्नेका लागि मात्रै हो । अहिले अदालतले धरौटी माग्दैमा लामिछाने दोषी प्रमाणित भएका होइनन् र धरौटीमा छुट्दैमा निर्दाेष ठहरिएका पनि होइनन् ।
यी ३ वटै जिल्ला अदालतले मागेको धरौटीका लागि प्रभु बैंकले बैंक ग्यारेन्टी प्रदान गरेको छ । बैंकले निश्चित प्रतिशत मार्जिन राखेर, शतप्रतिशत नगद राखेर वा सम्पत्ति धितो राखेर पनि बैंक ग्यारेन्टी दिने बैंकर्सहरु बताउँछन् ।
‘बैंक ग्यारेन्टी दिने बैंकको अधिकारको कुरा हो । उसले १०–१५ प्रतिशत मार्जिन राखेर पनि ग्यारेन्टी दिन सक्छ । बैंक ग्यारेन्टी बराबरको सम्पत्ति धितो राखेर पनि दिन सक्छ वा शतप्रतिशत नगद राखेर पनि ग्यारेन्टी दिन सक्छ । यो बैंकले जोखिम हेरेर गर्ने निर्णय हो,’ एक वाणिज्य बैंकको माथिल्लो तहमा काम गरिरहेका एक कर्मचारीले भने ।
उनले दिएको यो जानकारी अनुसार रवि लामिछानेलाई १० देखि १५ लाख रुपैयाँ लिएर प्रभु बैंकले १ करोड रुपैयाँको बैंक ग्यारेन्टी पनि दिन सक्ने भयो । वा जति रकम बराबरको बैंक ग्यारेन्टी चाहिने हो, त्यति रकम बराबरको सम्पत्ति धितो राखेर बैंक ग्यारेन्टी लिइएको पनि हुन सक्ने भयो । वा लामिछानेको प्रभु बैंकमा खाता छ, त्यो खातामा २ करोड २५ लाख रुपैयाँ थियो, त्यसैले प्रभु बैकले सो बराबरको रकम बैंक ग्यारेन्टी दिएको पनि हुन सक्ने भयो ।
तर, विविसी नेपाली सेवालाई रास्वपा कार्यवाहक प्रवक्ता झाले प्रभु बैंकले कसरी बैंक ग्यारेन्टी दियो भन्ने स्पष्ट पारिदिएका छन् । उनले भनेका छन्– प्रभु बैंकमा खाता छ, त्यो खातामा भएको रकमका आधारमा प्रभु बैंकले बैंक ग्यारेन्टी दिएको छ ।
कस्को खातामा छ २ करोड २५ लाख ?
विविसी नेपाली सेवालाई कार्यवाहक प्रवक्ता झाले कस्को खातामा रकम थियो भन्ने खुलाएका छैनन् । उनले रास्वपाका देश विदेशमा रहेका शुभ चिन्तकले क्राउड फन्डिङबाट रकम जम्मा गरेर धरौटी रकमको जोहो गरिदिएको बताएका छन् । यसका लागि पार्टीले क्राउड फन्डिङको पहल नै गरेको उनको भनाइ छ ।
तर, बैंकर्सका अनुसार रवि लामिछानेलाई खातामा भएको रकमका आधारमा बैंक ग्यारेन्टी दिन उनकै खातामा रकम भएको हुनुपर्छ । अर्थात प्रभु बैंकमा रवि लामिछानेको नाममा बैंक खाता हुनुपर्छ र सो खातामा कम्तिमा २ करोड २५ लाख रुपैयाँ नगद हुनुपर्छ । यद्यपि, रवि लामिछाने गृहमन्त्री बनेको बेलामा बुझाएको सम्पत्ति विवरणमा उनको खातामा १ लाख १० हजार रुपैयाँ मात्रै छ ।
रवि लामिछानेको प्रभु बैंकमा खाता रहेछ र कार्यवाहक प्रवक्ता झाले भने जस्तै सो खातामा भएको मौज्दात रकमकै आधारमा बैंक ग्यारेन्टी दिइएको हो भने सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा भएको छ । पार्टीले क्राउड फन्डिङबाट रकम जम्मा गरेको भएपनि सो रकम लामिछानेको व्यक्तिगत सम्पत्ति भएको छ । अर्थात सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेपछि लामिछानेले कम्तिमा २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
धरौटी राखिएको बैंक ग्यारेन्टी केमा प्रयोग हुन्छ ?
३ वटा जिल्ला अदालतहरुले गरेर हालसम्म लामिछानेसँग २ करोड २५ लाख रुपैयाँ धरौटी माग गरिसकेका छन् । र, लामिछाने ती ३ वटै जिल्ला अदालतहरुलाई सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।
लामिछानेले राखेको यो धरौटी रकम केमा प्रयोग हुन्छ भनेर वडापालिकाले संवैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्यलाई सोधेको थियो । उनले धरौटी राखिएको रकम वा बैंक ग्यारेन्टी राख्ने व्यक्ति दोषी ठहर भए उसले तिर्नु पर्ने विगो वा जरिवाना तिर्न प्रयोग हुने बताए ।
‘धरौटीको रुपमा रकम नै वा बैंक ग्यारेन्टी जे बुझाएको भएपनि सो बुझाउने व्यक्तिले सफाइ पायो भने रकम फिर्ता हुन्छ । तर, उक्त व्यक्ति दोषी ठहर भयो भने उसले तिर्नु बुझाउनु पर्ने विगो वा जरिवाना तिर्न बुझाउन प्रयोग हुन्छ । धरौटी वा बैंक ग्यारेन्टी रकम बढी भयो भने फिर्ता पाइन्छ, कम भयो भने थप तिर्नु बुझाउनु पर्छ,’ आचार्यले वडापालिकासँग भने ।
कानुनविद आचार्यले दिएको जानकारी अनुसार रास्वपाले क्राउड फन्डिङबाट संकलन गरेको रकम रवि लामिछाने दोषी ठहर भएपनि उनको निजी कार्यमा प्रयोग हुने देखिन्छ । यस्तै, उनी निर्दाेष ठहर भएपनि सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
बैंक ग्यारेन्टी कसले र कहिले तिर्छ ?
बैंक ग्यारेन्टी भनेको बैंकले अदालतलाई अभियुक्तसँग मागेको धरौटी रकम बराबरको प्रत्याभूत गरेको रकम हो । अर्थात अभियुक्तसँग अदालतले जति रकम धरौटी माग्छ, त्यति बराबरको रकम म तिरिदिन्छु भनेर बैंकले गरेको कबुल हो । रवि लामिछानेको हकमा उनी दोषी ठहर भए भने कास्की जिल्ला अदालतलाई ६५ लाख, काठमाडौँ जिल्ला अदालतलाई ६० लाख र रुपन्देही जिल्ला अदालतलाई १ करोड रुपैयाँ म दिन्छु भनेर प्रभु बैंकले ग्यारेन्टी गरेको हो । लामिछाने दोषी ठहर भएपछि बैंकले ७ दिनभित्रमा सो रकम अदालतमा बुझाउनु पर्छ ।