Odapalika - The Fourth Estate - चौथो अंग
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी

काठमाडौँ । डडेल्धुराको भागेस्वर गाँउपालिकामा शिक्षक डायरी लागू गरिएको छ ।

सो पालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक डायरी लागू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पु¥याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ ।

डायरीमा शिक्षकले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारी उल्लेख गरिएको छ । यस्तै, पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई पनि डायरीमा समावेश गरिएको छ ।

डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्याङ्कगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठ्यक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको संरचना, मूल्याङ्क प्रक्रिया उल्लेख गरिएको छ । यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीको नाम, जन्ममिति, आमाबुबाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ । विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ । डायरीमा शिक्षकको समयतालिका, शैक्षिक योजना बनाउनका लागि स्थान उपलब्ध गराइएको छ ।

विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्याङ्कनको अभिलेख र निरन्तर मूल्याङ्कन फारामसमेत डायरीमै राखिएको छ । भागेस्वर गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update