
काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको पुस महिनामा महत्वपूर्ण १५ वटा काम सम्पन्न गरेको छ ।
गाउँपालिकाले सो महिनामा आफूले गरेका कामको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरण अनुसार पालिकाले १५ वटा प्रमुख कार्यहरु गरेको छ ।
पालिकाले सार्वजनिक गरेको विवरण अनुसार पुस महिनामा ५१ वटा योजनाको सम्झौता भएको छ भने १३ वटा योजनाको भुक्तानी भएको छ । यस्तै पुस महिनामा १९ वटा कागजपत्र दर्ता भएका छन् भने १७३ वटा चलानी भएका छन् ।
सो महिनामा कृषि सेवा शाखाले फिल्ड अनुगमन गरेको थियो । सो अनुगमनमा तोरी, तरकारी, सुन्तला छाँटकाँट तथा कागतीको फल मर्ने समस्या भएका ५१ जना किसानले लाभ पाएका छन् । यस्तै, ११ जना किसानले कृषि परामर्श पाएको र १६ जना किसानलाई जैविक विषादी विरण गरिएको पालिकाले जानकारी दिएको छ ।
पालिकाले कृषि मेला प्रदर्शनी पनि आयोजना गरेको थियो । सो प्रदर्शनीमा १५० जना कृषक सहभागी भएका थिए । उत्कृष्ट कृषकलाई पुरस्कृत पनि गरिएको थियो । यस्तै, ९ वटा वडामा नै कृषि सम्बन्धी नै एकीकृत घुम्ती शिविर संचालन गरिएको र सो शिविरबाट १५० जनाले सुविधा पाएको तथा सोलुको थुलुङ दुधकोशी गाउँपालिकाबाट काठमाडौँसम्म ४ पटक कृषि एम्बुलेनस मार्फत कफी तथा किबी ढुवानी पनि गरिएको थियो । यस्तै, ३८ घरधुरीलाई गहुँको विउ वितरण गरिएको, १७ जना कृषकलाई तरकारी बालीमा लागेका रोग किराको अवलोकन गरी विषादी परिमाण र प्रयोग गर्ने सम्बन्धी परामर्श दिइएको तथा ३ जना किसानलाई किवीको छाँटकाँटमा सहयोग गरेको पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाको पशु सेवा शाखाले २ हजार ३०३ वटा पशुको उपचार पुस महिनामा गरेको छ भने २० वटा अन्य रोगको उपचार गरेको छ ।
गाउँपालिकाको आयुर्वेद औषधालयबाट २१० जनाले सेवा पाएका छन् । यी सेवा पाउनेमध्ये १२० जना पुरुष हुन भने ९० जना महिला हुन् ।
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा ३ लाख २ हजार ४५८ रुपैयाँ राजस्व संकलन गरेको छ । सो गाउँपालिकामा ४३ वटा जन्म दर्ता भएका छन् भने ८ जनाको मृत्यू भएको दर्ता गरिएको छ । यस्तै, २४ वटा विवाह दर्ता भएका छन् । २ परिवार बसाई सराई गरेर सो गाउँपालिका आएका छन् भने ६ परिवार बसाई सरेर गएका छन् । यस्तै, ३ जोडीले सम्बन्ध विच्छेद गरेको पालिकाको तथ्यांकमा उल्लेख छ ।
पालिकाको वडा कार्यालयहरुले २ वटा समुह पुस महिनामा दर्ता गरेका छन् । यस्तै, ४४ जनाको लागि नागरिकता सिफारिस गरेका छन् । २१ वटा प्रतिलिपि सिफारिस गरिएको ३२५ अन्य सिफारिस गरिएको, ३ वटा नाता प्रमाणित गरिएको र २ वटा घरबाटो सिफारिस गरिएको पालिकाले जानकारी दिएको छ ।
पालिकाको स्वास्थ्य शाखाबाट सम्पादन हुने कार्यहरुमा ७६१ जनाले बहिरंग सेवा पाएको, ६० जनालाई पिल्स वितरण गरिएको, १ जनाको इम्प्रान्ट गरिएको, डीपो १३४ जनालाई गरिएको, ६७ जनालाई गर्भवती सेवा प्रदान गरिएको, ५ जनालाई प्रसुती सेवा प्रदान गरिएको, युएसजी सेवा ३६ जनालाई प्रदान गरिएको, १२८ जनालाई नियमित खोप प्रदान गरिएको १३ जनालाई पूर्ण खोप उपलब्ध गराइएको, पालिकाले संचालन गरेको गाउँघर क्लिनिक सेवाबाट ११९ जनाले सेवा पाएको, ८६ जनाको बाल रोग व्यवस्थापन गरिएको र १७९ जनालाई पोषण सेवा प्रदान गरिएको पालिकाले जानकारी दिएको छ ।
पालिकाका अनुसार अस्पतालबाट विभिन्न १४ प्रकारका सेवा प्रवाह हुँदा सयौंको संख्याका नागरिकले सुविधा पाएका छन् । यस्तै ५ जनाको जेष्ठ नागरिक कार्ड वितरण गरिएको छ भने २८६ जना प्रधानमन्त्री रोजगार बारे अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राई पालिकाबाट सम्पादन भएका कार्यहरुका बारेमा नागरिकलाई पनि जानकारी हुने र आफूहरुलाई पनि के कस्तो काम भएछ भन्ने अभिलेख हेर्न सजिलो हुने भएकोले मासिक रुपमा सम्पादन भएका कार्यहरु सार्वजनिक गर्न थालिएको बताउँछन् ।
‘स्थानीय सरकारबाट सम्पादन भएका कार्यहरु सार्वजनिक गर्नु कानुनी दायित्व पनि हो । पारदर्शीताको विषय पनि हो र नागरिकको सुचनाको हक पनि हो । गत महिना के कस्ता काम गरिएछ भनेर हामीले आफ्नै अभिलेखका लागि यसले सहयोग गर्छ, त्यसैकारण हामीले प्रत्येक महिना भएका कार्यहरु यसरी सार्वजनिक गर्ने गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत राईले वडापालिकासँग भने ।
पालिकाले चालु आर्थिक वर्षदेखि प्रत्येक महिना सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गर्न थालेको हो । यस्तो विवरणमा पालिकाबाट भएका र वडा कार्यालयहरुबाट भएका कार्यहरु पनि सार्वजनिक गर्ने गरिएको छ । सो गाउँपालिकाका अध्यक्ष असिम राई सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउनु पर्छ भन्ने मान्यतामा रहेका कारण पनि यसरी विवरण मासिक रुपमा सार्वजनिक गर्न सहयोग पुगेको प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ ।
‘अध्यक्षज्यू पारदर्शीताको पक्षमा हुनुहुन्छ । स्थानीय सरकारबाट सम्पादन हुने कार्यहरु सेवाग्राहीमैत्री हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । नागरिकलाई बढी फाइदा हुने काम गर्न चाहनु हुन्छ । त्यसैकारण पनि मासिक रुपमा सम्पादन भएका कार्यको विवरण सार्वजनिक गर्न हामी सबैलाई प्रेरणा मिलेको छ,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने ।