Odapalika - The Fourth Estate - चौथो अंग
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 

काठमाडौँ । व्यवसायी चन्द्र ढकालको कम्पनीले ताप्लेजुंगको पाथिभरा मनिदर पुग्न केवलकार निर्माणको काम थालेपछि यो क्षेत्र आन्दोलित छ । 

केवलकार बनाउन नदिने स्थानीय रसुरक्षाकर्मीबीच झडप भएपछि कहै व्यक्ति गम्भीर घाइते भए । यसपछि बिवाद वढ्दै जाँदा केवुलकार निर्माणको विरोध र प्रहरी दमनका विरुद्ध आज अरुणपूर्वका ९ वटा जिल्ला बन्द घोषणा गरिएको छ । अरुणपूर्वका पहाडी जिल्लामा यातायत ठप्प छ भने तराईका केही जिल्लामा यातायत सामान्य चलेको छ । 

पाथिभर मन्दिर र आसपासको तीन किलोमिटर भन्दा बढी क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्छ । केवुलकार निर्माण हुने स्थान भने फुङलिङ नगरपालिका वडा नम्बर ११ मा मात्र पर्छ । जुन क्षेत्रमा अहिले केवलकार निर्माणका लागि रुख कटान भइसकेर सुरु स्टेसशन काफ्लेपाटीमा संरचना निर्माणको काम सुरु भइसकेको छ । 

पाथिभरा मन्दिर क्षत्रेमा पाथीभरा याङवरक गाउँपालिका र सिरिजंघा गाउँपालिका पनि पर्छन् । यस हिसावले पाथिभराक्षेत्रमा ताप्लेजुङका ४ स्थानीय तह पर्छन् । 

पाथिभरा मन्दिरको संरक्षण, हेरचाह र प्रचारप्रसारलगायतका काम गर्न पाथीभरा क्षेत्र विकास समिति छ । यो समितिमा ४ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरु जिल्ला समन्वय समितिका सभापति, जिललका सबै सांसदहरु, सिडिओ मालपोत प्रमुख, वन अधिकृतसहित नागरिक समाजका ५ जना प्रतिनिधिहरु छन् । 

केवुलकार निर्माणको विवाद भने २ तहमा देखिएको छ । पहिलो तहमा ताप्लेजुङका स्थानीयवासी र आदिवासीहरु छन् । उनीहरु केवुलकार निर्माण हुँदा स्थानीयको रोजीरोटी खोसिने, पाथिभरा मन्दिरको ऐतिहासिक महत्व नासिने, वातावरणीय प्रभाव पर्नेलगायतका थुप्रै एजेण्डा अघि सारेर बिरोधमा छन् । 

अर्कोे तहमा स्थानीय ४ वटा सरकारहरु छन् । फुङलिङ नगरपालिकाबाहेक फक्ताङलुङ, पाथिभरा याङबरक र सिरिजङघा गाउँपालिका भने केवुलकार निर्माणको प्रक्रिया नै गलत भएको भन्दै विरोधमा छन् । 

मुक्कुम्लुङ संरक्षण संघर्ष समिति (स्थानीयले पाथिभरालाई मुक्कुम्लुङ भन्छन्) को आह्वानमा ताप्लेजुङसहितका जिल्ला बन्द भएपछि हामीले पाथिभरा मन्दिर क्षेत्रमा रहेका स्थानीय सरकारहरुलाई केवलकारको निर्माणको विषयमा तपाइँहरुका धारणा के हो भनेर सोधेका छौँ । 

विरोधमा रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष हुन् राजन लिम्बु । लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ । 

यो प्रश्नमा उनको जवाफ यस्तो छः  

अहिलेको समस्या भनेको लामो समयदेखि रहेर आएको हो ।  चन्द्र ढकालजीको स्वामित्वमा आइपुग्दासम्ममा स्थानीय जनताले धेरैखाले सरोकार उठाइरहेका छन् । हामीले पहिलो कुरा त जनताले के भन्छन् भनेर नै सुन्ने हो । 

यहाँ बहुसंख्यक आदिवासी जनजातिहरु छन् । उहाँहरुको आस्थाको केन्द्र हो पाथिभरा मन्दिर क्षेत्र । यो क्षेत्रमा केवलकार बनाउने निर्णय र प्रक्रियामा राज्यले नै गलत गर्यो । सुरुदेखि नै गलत हुँदै आएको छ । 

पाथिभरा क्षेत्रमा केवलकार बनाउने प्रक्रिया गलत भयो । सवाल उठिसकेपछि छलफल हुनुपर्छ । स्थानीय सरकार छ, जनता छन्, नागरिक सुनुवाई हुनुपर्ने होला, लाभग्राहीको पहिचान हुनुपर्ने होला । यी सबै काम अहिलेसम्म भएनन् । 

सरकार र निर्माण पक्ष एकलौटी रुपमा पेलेर जान खोजिरहेको छ । स्थानीय सरकार, निर्माण कम्पनी र स्थानीयबीचको त्रिपक्षीय छलफल नै भएन । प्रक्रियागत त्रुटी भयो । केवलकार बन्ने हुँदैन भन्ने पक्षमा स्थानीय सरकार छैन । हामी प्रक्रिया मात्र गलत भयो भनिरहेका छौँ । प्रभावित पालिकामध्ये फुङलिङ नगरपालिका निर्माण कम्पनीको पक्षमा देखिदै आएको छ । तर हामी अन्य पालिकासँग कुनै समन्वय भएन । बरु मैले नै सिरिजङगा गाउँपालिकासँग अब कसरी अघि वढ्ने भनेर सम्वाद गर्दै आएको छु । हामी अहिले पनि छलफलमै छौँ । 

कम्पनीले काम अघि बढाउँदै गर्दा स्थानीय सरकारलाई बायस गरेर जान उचित हुँदैन । सामाजिक उत्तरदायित्व, रोयल्टी, शेयर, रोजगारी जस्ता विषयमा हामीलाई कुनै जानकारी छैन । यो विषयको छिनोफानो नभइ प्रजेक्ट अघि बढ्न समस्या छ भन्ने मेरो ठम्याइ छ । 

यसको डिपिआर के हो? त्यो पनि थाहा भएन । कोको सँग के सम्झौता भए? त्यो पनि हामीलाई थाहा भएन ।  संविधानतः कुनैपनि प्रोजेक्ट बन्छन् भने स्थानीय सरकारसँग अनुमति माग्नुपर्ने हो । प्राकृतिक श्रोतसाधनको स्वामित्व स्थानीय सरकारमा हुन्छ । यसको प्रयोग गर्दा हामीसँग छलफल हुनैपर्छ । यस अर्थमा पनि परियोजना गलत प्रक्रियाबाट अघि वढाइयो भन्ने हाम्रो भनाइ हो ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update