Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह

काठमाडौँ  । धरान नगरपालिकाका मेयर हर्क साम्पाङका लागि भोलि शनिवार होइन । उनका लागि यो दिन श्रमबार हो । 

अर्थात हरेक शनिवार उनी स्थानीयबासीलाई श्रमदान गर्न आह्वान गर्छन् । कहिले बृक्षरोपण  त कहिले सरसफाइमा जुट्छन् । भोलि उनले बृक्षारोपणको तालिका बनाएका छन् ।सामाजिक सञ्जालमार्फत श्रमबारमा श्रम गर्न उनले आह्वान गरिसके । 

धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । खोटाङ, भोजपुरलगायतका जिल्लाका स्थानीय तह वर्षायाममा श्रमदान गरेरै बाटो बनाउन जुटे । पश्चिम पहाडका स्थानीय तहहरुपनि नागरिकलाई पछिल्लो समय श्रम संस्कृतिसँग जोड्दै छन् । 

पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ । 

‘आफ्नो घर माथिबाट खसेको काल्नो पन्छाउन पनि अनुदान र सहयोग माग्ने आउने क्रम बढेको छ’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ पछिल्लो अवस्था सुनाउँदै भन्छन् । 

ramechhap-shram (4)1694749418.jpg

विगतमा व्यक्तिगत काम मात्र होइन सार्वजनिक कामहरू बाटो मर्मत गर्ने, चौतारो बनाउने, रुख रोप्ने, धारा–पँधेरा बनाउने, पोखरी खन्ने, कुलो मर्मत गर्ने काममा गाउँलेहरू श्रमदानमा जुट्ने गर्दथे । व्यक्तिलाई समस्या र्पयो भने वा व्यक्तिका घर बनाउँदा निदाल बोक्ने, तलो छाप्ने, विवाह, व्रतबन्ध जस्ता भोजहरूमा पनि छिमेकीले निःशुल्क श्रमदान गर्दथे । तर अहिले हरेक काममा अनुदान र सहयोग खोज्ने र त्यसबाट समेत नाफा कमाउने प्रचलन बढ्दै गएको छ । 

ramechhap-shram (3)1694749416.jpg

स्थानीय तहले उपभोक्ता समिति मार्फत गर्ने कामको उपभोक्ता समितिमा बस्न हारालुछ हुने गरेको छ । उपभोक्ता समितिमा बसेर काम गर्दा केही नाफा कमाउन सकिन्छ भन्ने धारणा विकास हुँदै गएको छ । 

हराउँदै गएको श्रमदान संस्कृतिलाई जगाउन आफैँ श्रमदानमा खट्ने गरेको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल बताउँछन् । उनी वडाध्यक्ष निर्वाचित भएदेखि नियमित रूपमा श्रमदानको काममा खटेका छन् । 

निर्वाचित भएकै वर्ष वर्षाको कारण सडक बिग्रिएर यातायात समाधान नचलेपछि वडाध्यक्ष पौडेल वडाका अन्य जनप्रतिनिधि लिएर श्रमदानमा जुटेका थिए । त्यस बेला स्थानीय खासै श्रमदानमा ननिस्किएका भए पनि यस वर्ष भने नागरिकहरूले साथ दिएका वडाध्यक्ष पौडेल बताउँछन् । 

‘श्रमदान गरेर सडक मर्मत गरेका छौँँ । विद्युतका पोल बोक्यौँ, खाडल खन्यौँ, तार तान्यौँ, नागरिकका घरमा बत्ती बाल्यौँ । वर्षाको बेलामा पनि कुनै दिन नरोकी यातायात साधन सञ्चालन गर्यौँ,’ पौडेलले भने । 

सोही गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप तामाङ पनि नागरिकहरू बिस्तारै श्रमदानको काममा जुट्न लागेका बताउँछन् । ‘सुरु सुरुमा श्रमदान जुटाउन धेरै गाह्रो थियो, अहिले भने बिस्तारै मानिसहरू निस्कन लागेका छन्, हाम्रो वडामा पनि सडक मर्मतमा श्रमदान जुटाएर धेरै काम गरियो’, उनले भने । 

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ श्रमदान जुटाउन जनप्रतिनिधि आफैँ श्रमदानमा निस्कनु पर्ने बताउँछन् । ‘जनप्रतिनिधि आफैँ निस्किएपछि बिस्तारै अरू मानिस पनि पछि लाग्ने रहेछन्’, उनले भने । वृक्षारोपण, सरसफाइ लगायतका काममा बिस्तारै श्रमदान जुट्न लागेको उनले बताए । 

ramechhap-shram (2)1694749415.jpg

श्रमदान मार्फत सामाजिक काम अघि बढाउनेमा मन्थली नगरपालिका–२ पनि पर्छ । सो वडामा टोल सुधार संस्था मार्फत मन्दिर, बाटो सफाइका साथै वृक्षारोपण लगायतका कार्यक्रम हुन लागेका वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । ‘श्रमदान गरेर केही काम गरौँ भन्दा सहभागिता जुट्न लागेको छ’, कार्कीले भने । 

उमाकुण्ड गाउँपालिकामा पनि यस पटकको वर्षामा सडक मर्मत गर्न स्थानीयले राम्रो श्रमदान गरे । वर्षाले बिग्रिएको मध्यमार्गी लगायतका सडक मर्मत गर्न स्थानीयले श्रमदान गरे । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update