Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम 

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पालिकाभित्रका अति विपन्न जनताका घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो । 

नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

उनकाअनुसार शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि १३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रुपैयाँ रकम उपलब्ध गराइएको उनको भनाइ छ । 

जसअनुसार वडा नं १ का १९, वडा नं २ का १०, वडा नं ३ का ५, वडा नं ४ का ११, वडा नं ५ का ९, वडा नं ७ का २१, वडा नं ८ का ११, वडा नं ९ का १९, वडा नं १० का ८ वटा, वडा नं ११ का ३ र वडा नं १२ का ६ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये २५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेका छन् । 

नागरिकलाई सुरक्षित र वातावरणमैत्री आवासको अधिकार प्रदान गर्नका लागि जस्तापाता खरिद र सहुलियत दरको काठलगायतका सामग्री खरिदका लागि कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराइएको बताइएको छ । नगरपालिकाका प्राविधिक परिचालन गरी आगलागी तथा हावापानी थेग्न सक्ने गरी आवास निर्माण गरिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update