Odapalika - The Fourth Estate - चौथो अंग
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकाले किसानले प्रयोग गरेको कृषि मिटरको विद्युत महशुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिजुली काटिदिएको छ । 

गहुँ सिंचाई गर्ने मुख्य सिजनमै बिजुली काटिएपछि कृषकहरु भने मारमा परेका छन् । नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो । 

लामो समयदेखि पालिकाले महशुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ता बताउँछन् । 

नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता एक करोड भन्दा माथि छ । सिंचाई मिटरको लाईन काटिँदा वडा नं. ८ का किसान मर्कामा परेका छन् । 

स्थानीय सरकारले जिम्मा लिएपछि रकम तिर्नुपर्ने बताउँदै स्थानीयले जिम्मेवारी नलिएको भए आफै तिर्ने बताउँदै आएका छन् । नगरपालिकाका कारण मुख्य सिजनमा बिजुली अभाव झेल्नुपरेको कृषकहरुको दुखेसो छ । 

नगरले विनियोजन गरेको बजेटभन्दा महशुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको नगरपालिकाको भनाइ छ । 

पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल बुझाउन ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेट र उठेको महशुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ बताउँछन् ।

नगरपालिकाले कार्यपालिका बैठक डाकेर चाँडै महसुल तिर्ने विषयमा निर्णय लिने तयारी थालेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update