Odapalika - The Fourth Estate - चौथो अंग
किसानका दैलोमा बाख्रा र धानको बिउ 

चितवन । चितवनको भरतपुर महानगरपालिका-२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । ‘राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत  गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ’, उनले भनिन् ।
  भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताए । 
धानको बीउ वितरण
भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ । भरतपुर-२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकलाई धानको बीउ वितरण गरिएको हो । महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो ।
 भरतपुरमा रहेका ७२ कृषि सहकारीमार्फत दुई सय ३३ मेट्रिक टन बीउ नौ हजार बढी कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update