
काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रबाट फोहोर संकलन गर्न रोकेको छ ।
उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौडा–१० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि उपमहानगरले फोहोर संकलन र व्यवस्थापन रोकेको हो ।
स्थानीय योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरेक निषेधाज्ञा मुद्दामा न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले २२ माघमा राप्ती टलमा फोहोर फाल्न रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेशपछि उपमहानगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेर फोहोर संकलन र व्यवस्थापन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको छ ।
‘उच्च अदालत पाटन, हेटौडा इजललासको मिति २०८१।१०।२२ मा जारी अल्पकालिन अन्तरिम आदेश अनुसार अर्काे आदेश वा व्यवस्था नभएसम्मको लागि यस उपमहानगरपालिकाले फोहोरको संकलन र व्यवस्थापन गर्दै आएको नियमित संकलनको कार्य स्थगित गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ उपमहानगरपालिकाले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
हेटौंडामा विगत लामो समयदेखि निजी संस्था ग्रिन एन्ड क्लिन सिटी सभिर्सेजमार्फत फोहोरको नियमित संकलन तथा हेटौंडा–१० राप्ती तटमा डम्पिङ साइट बनाएर फोहोरको व्यवस्थापन हुँदै आएको थियो ।