
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले देशभरका सबै स्थानीय तहका अस्पतालहरुमा औषधी कहिले पुग्छ भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन् । स्थानीय तहहरुमा अस्पताल बनेको तर आवश्यक औषधी नपुगेको भन्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन् ।
‘स्थानीय तहहरुमा अस्पतालहरु त पुगे तर औषधी पुगेको छैन । अस्पताल पुगेका अस्पतालहरुमा औषधी कहिले पुग्छ ?’ सांसद खतिवडाले भने ।
बैठकमा सांसदहरुले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइएकोमा सरकारलाई धन्यवाद दिए । यस्तै, सांसदहरुले स्वास्थ्य बीमाको भुक्तानी रोकिएका कारण कतिपय अस्पतालहरुबाट सेवा पाउन कठिन भएकोमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । अस्पतालहरुलाई दिनुभपर्ने भुक्तानी समयमै नभएका कारण स्वास्थ्य बीमामा समस्या देखिएको मन्त्री पौडेलले बताए ।
सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले अहिले विद्यालयहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपहरु दिइरहेको र यो चरणमा छुटेका किशोरीहरुका लागि वडा कार्यालयहरुबाट खोप उपलब्ध हुने उनले बताए ।
सांसद खतिवडाको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले स्रोतको सिमितताका कारण केही समस्या भएको बताए । यस्तै, अहिले निःशुल्कको सुचीमा रहेका औषधीको प्रभावकारितामाथि धेरैतिरबाट प्रश्न उठेकोले यसमा पुनर्बिचार गर्न आवश्यक देखिएको पनि मन्त्री पौडेलले बताए ।