Odapalika - The Fourth Estate - चौथो अंग
‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’

काठमाडौं । पाथीभरामा केबलकार निर्माण हुँदा पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कम्पनीले बताएको छ ।

पाथीभरा देवी केबलकार प्रालिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परियोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गरेको हो । 

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणलाई लिएर विभिन्न तर्क–वितर्क भइरहे पनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले परियोजनाले तीन सय जनालाई प्रत्यक्ष रोजगारी दिने र त्यसमा ८० प्रतिशत रोजगारी स्थानीयले पाउने जनकारी दिए ।

हाल पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका व्यक्तिहरूलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष ढकालले भने । उनले केबलकारले धार्मिक आस्था नखल्बल्याउने पनि बताए ।

कम्पनीका अनुसार केबलकार लाइनमा ३६ यात्रुवाहक गोण्डोला र दुई वटा सामान बोक्ने गोण्डोला रहने छन् । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म १० मिनेट ३१ सेकेण्ड मात्र लाग्ने अध्यक्ष ढकालले जानकारी दिए ।

यस्तै उनले केबलकारले पहिचानको प्रवद्र्धन गर्ने पनि बताए ।

‘केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’ उनले भने ।

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरु भएका छन् । उनले केबलकार निर्माण भएपछि तिर्थयात्रीलाई सहजताका हुने बताए ।

‘केबलकार निर्माणले बालबालिका, वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त र उकालो ओरालो हिँड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्नेछ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउैन । केबलकार केवल यातायातको साधन मात्र हो । जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्‍याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुत बनाउन सहयोग पु¥याउँछ,’ अध्यक्ष ढकालले भने ।

पाथीभरा केबलकारको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

एउटा रुख काटे २५ वटा रोपिने

पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष ढकालले पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवद्र्धन गर्ने बताए । केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने जस्ता शंका गरिए पनि त्यसमा सत्यता नभएको उनको भनाइ छ । 

वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रूख बराबर २५ रूखका दरले वृक्षरोपण गरिने अध्यक्ष ढकालले बताए । त्यसरी रोपिएका रूखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

‘केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइनेछ । यी आधारभूत आवश्यकताका संरचनाबाहेक यहाँ अरू केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन,’ उनले भने ।

परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गरे ।

‘स्थानीयलाई आयोजनाको सेयर तथा लगानीको अवसर मिल्नेछ । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेण्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुनेछ,’ उनले भने ।

सातै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य

अध्यक्ष ढकालले सातै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बनाउने आफ्नो योजना रहेको पनि सुनाए । तर, अहिले पाथीभरा केबलकारमा सिर्जना भएको समस्याले आफ्नो योजनामा ठेस लागेको पनि उनको भनाइ छ ।

‘विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ । राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया पूरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय अत्यन्त दुःखदायक छ । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको छ,’ उनले भने ।

पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरूले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेको अध्यक्ष ढकालको भनाइ छ । त्यति मात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरूका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्‍याउने खालका आक्षेपहरू लगाएको उनको भनाइ छ ।

‘केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै समृद्धिमा उनीहरूको योगदानको अनादर गर्नु अत्यन्त दुःखद विषय हो । आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौँ । हामीलाई स्थानीयको आवश्यकताबारे जानकारी छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update