Odapalika - The Fourth Estate - चौथो अंग
दोगडाकेदार गाउँपालिकामा यसरी बन्दैछ आधारभूत अस्पताल 

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथ बताउँछन् ।

अस्पताल निर्माणको कूल लागत अनुमानित  १४ करोड ६८ लाख २९ हजार ६६५ रुपैयाँ रहेको र ठेक्का सम्झौतामा ८ करोड ५१ लाख ४६ हजार ७३० रुपैयाँ तोकिएको थियो । 

हालसम्म ७ करोड ८८ लाख ७२ हजार ५१७ रुपैयाँ निकासा भइसकेको छ भने ७ करोड ५१ लाख ९२ हजार ६१७ रुपैयाँ खर्च गरिएको छ । २ करोड २२ लाख ४८ हजार ९६८ रुपैयाँ  अतिरिक्त माग गरिएको छ ।

दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको छ । अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी । उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ ।

स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update