Odapalika - The Fourth Estate - चौथो अंग
मोरङको सुन्दरहरैँचामा पनि कुटिए चिकित्सक 

विराटनगर । हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एकजना चिकित्सकमाथि दुर्व्यवहार एवं हातपात छ ।

मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात भएको हो । सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवले बताए । 

डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात गरेका हुन् ।  शुक्रराजले ज्वरो आएको भन्दै बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल पुर्याएका थिए । 

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी सेवा बन्द थियो । 

तारिणीलाई दिउँसो १२ः३० बजेतिर आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारमा खटिएका डा. पोखरेलले जाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी गराएका थिए । 

त्यसपछि उनीमाथि बिरामीका छोरा शुक्रराजले गाली गदै हातपात गरेको मेसु यादवले बताए । त्यस क्रममा अरु बिरामीका कुरुवा र अस्पतालका सुरक्षा गार्डले रोकेका थिए ।

डा. यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो । उपचारमा संलग्न ड्युटीका चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ । डा. पोखरेलले आफूमाथि हातपात भएको बताए ।

शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ । डा। पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । 

यसैबीच, हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै विराटनगरको कोसी अस्पतालमा शुक्रबार केहीबेर ओपीडी सेवा अवरुद्ध बनाइएको छ । चिकित्सकले करिब २ घण्टा समयसम्म सेवा अवरुद्ध बनाएका हुन् । 

बिहानैदेखि टिकट काटेर उपचारका लागि लाइनमा बसेका अधिकांश बिरामी घर फर्किएका थिए । अस्पताल प्रशासनको आग्रहमा चिकित्सकले सेवा सञ्चालन गरेपनि घर नफर्किएका केहीले मात्रै स्वास्थ्य परीक्षण र उपचार गराउन पाएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update