Odapalika - The Fourth Estate - चौथो अंग
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र  

काठमाडौँ । उर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हुन् नरबहादुर मोक्तान । जनताको सेवा, वडाको विकास र समाजसेवामा समर्पित उनी सफल कृषक पनि हुन् ।

बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ ।

जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन् । हाल सो केन्द्रबाट दैनिक २५० किलो च्याउ उत्पादन हुँदै आएको छ 

। उनका अनुसार कृषिलाई केवल व्यवसाय मात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरको रूपमा अघि बढाउनु आवश्यक छ । फाराममा कन्ये, मिल्की र डल्ले च्याउ उत्पादन हुन्छ । उनलाई स्थानीय बजारमै माग पुरा गर्न हम्मे हम्मे छ । 

जनताका काम भ्याएर पनि उनी च्याउ खेतीबाटै वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरिरहेकये सुनाउँछन् । वडाध्यक्ष मोक्तानले कालोपत्रे सडक, पूर्वाधार निर्माण, र कृषिमा लगानी जस्ता कार्यलाई विशेष प्राथमिकता दिएका छन् । फरक राजनीतिक विचार राख्नेहरू समेत उनको कार्यशैली र इमानदारिताको प्रशंसा गर्छन् ।

स्थानीयहरू भन्छन् , 'उहाँ पदमा नहुँदा पनि पहुँच राख्ने व्यक्ति हुनुहुन्थ्यो, अहिले त जनप्रतिनिधि भएपछि झन् धेरैको सेवा गर्न सक्नु भएको छ।'

२०४० सालमा उनले गाबिस उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि २०५४ सालमा गाबिस अध्यक्षमा उठे तर दुबैमा पराजित भए । विदेशी भूमिबाट फर्किएपछि उनले पुनः कृषिमा सक्रियता देखाए । पछि स्वतन्त्र रूपमा उर्लाबारी ९ को वडा अध्यक्षमा उम्मेदवारी दिए, तर झिनो मतले पराजित भए । त्यसपछि नेपाली कांग्रेसबाट पुनः उम्मेदवारी दिएर प्यानलसहित विजयी भए ।

उनी भन्छन्, जितेर गएर पछि म केवल जनप्रतिनिधि होइन, साझा प्रतिनिधि बनेको छु । कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ । विकास र उत्पादनलाई सँगै अगाडि बढाउन सके मात्र देशले समृद्धि पाउनेछ, उनी भन्छन् ।

मोक्तान तीन वर्ष बहराइन, त्यसपछि छ वर्ष कोरिया, ६ महिना मलेसिया, एक वर्ष थाइल्यान्ड ६ महिना ताइवान बसेर विभिन्न अनुभव संकलन गरे । तर, गाउँको विकास मोह कहिल्यै हराएन । स्वदेश फर्किएपछि उनले कृषिमा लगानी गरे र जनताको सेवामा निरन्तर लागिरहे ।

उनको योजनामा उर्लाबारी ९ लाई कृषि, पर्यटन, र पूर्वाधारको हब बनाउने लक्ष्य छ । कृषिलाई प्रविधिसँग जोड्न सकेमा मात्र युवा विदेशिनु नपर्ने उनको निष्कर्ष छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update