Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने !

काठमाडौँ । केवलकार परियोजना निर्माणको विषयलाई लिएर यतिवेला ताप्लेजुङको पवित्र धार्मिकस्थल पाथिभरा क्षेत्र तनावमा छ । 

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथिभरा केवुलकार खारेजी संघर्ष समितिलगायतको व्यानरमा ताप्लेजुङदेखि काठमाडौँसम्म आन्दोलन छ । 

तर, ताप्लेजुङको फुङलिङ नगरपालिकाले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी जनप्रतिनिधिको अभिव्यक्तिले भने आन्दोलन र आन्दोलनकारीसँग शंका गर्नुपर्ने अवस्थामा पुर्याएको छ । 

पत्रकार सम्मेलनमा उपस्थित भएका मेयर अमिर मादेनमात्र होइन, ७ वटा वडाका वडाअध्यक्षहरुको निष्कर्ष छ– हाम्रो स्थानीय सरोकारका विषयमा बाहिरका जिल्लाका मान्छे आएर राजनीति गर्न थाले, यो गम्भीर विषय हो । 

जनप्रतिनिधिले भनेजस्तै पाथिभरा क्षेत्रका स्थानीयको स्थानीय सरोकार बोक्ने भनिएको आन्दोलनमा होमिएका ११ वटा संस्थाको नेतृत्वकर्तामध्ये २ जनामात्र ताप्लेजुङ र पाथिभरा मन्दिर क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरु देखिएका छन् । 

नो केवलकार अभियान भन्दै ११ वटा धार्मिक र जातीय संस्थाका साथै १० वटा राजनीतिक दल र ती आवद्ध संस्थाले आन्दोलन गर्दै आएका छन् । सरकारसँगको वार्ता र आन्दोलनलाई संगसंगै अघि बढाइरहेका अभियन्ता संस्थामा नेतृत्व गर्नेमध्ये ९ वटा संस्थाको नेतृत्व भने ताप्लेजुङ जिल्लासँगै सरोकार नभएका र सरोकार नजोडिएकाहरु पाइएको छ । 

स्थानीयवासीका अनुसार मुक्कुम्लुङ संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू र पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुमात्र ताप्लेजुङका स्थायी बासिन्दा हुन् । लिम्बु फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ का हुन् भने फेम्वो फुङलिङ नगरपालिका वडा नम्बर ४ का हुन् । 

ती बाहेक आन्दोलनमा सहभागी किरात याकथुम चुम्लुङ संघीय समितिका प्रेम येक्तेन, लिम्बु थरगत संस्थाका संयोजक नन्द कन्दङवा, प्रदेश नम्बर १ पुनः नामाकरण अभियान समितिका अध्यक्ष डेकेन्द्रसिंह थेगेम पनि ताप्लेजुङबाहिरका हुन् । थेगेम इलाम– २ को उपनिर्वाचनमा पहिचानबादी मोर्चाका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । 

आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अध्यक्ष ङिमि शेर्पा, याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इघिङ्गो पनि ताप्लेजुङका स्थानीय होइनन् । 

आन्दोलनरत याक्थुङ चोः सङजुम्भोका संस्थापक किरण कुमार सिगु, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सागर कुलुङ र लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदिप नेयोङ पनि ताप्लेजुङका स्थायी बासिन्दा होइनन् ।  इघिङ्गो र नेयोङ ताप्लेजुङमा जन्मिए पनि उनीहरु हाल जिल्लामा नभएको स्थानीयको भनाइ छ । 

फुङलिङ नगरपालिकाका वडाअध्यक्षहरुले भनेजस्तै ताप्लेजुङको स्थानीय संस्कार र संस्कृति जोगाउने अभियानमा होमिएका १० वटै राजनीतिक दल र तिनका भ्रातृ संस्थाका प्रतिनिधिसमेत ताप्लेजुङसँग सरोकार नराख्ने व्यक्तिहरु देखिएका छन् ।

संघीय राजनीति हुदै क्षेत्रिय राजनीतिको वरिपरि घुमिरहेका पूर्व उपप्रधानमनत्री राजेन्द्र महतो समेत यतिवेला ताप्लेजुङका स्थानीय र लिम्बु तथा किरातहरुको मुक्कुम्लुङ जोगाइदिने ‘स्वार्थपूर्ण अभियान’मा होमिएका छन् । 

पटक पटक मन्त्री भइसकेका महतो अहिले राष्ट्रिय मुक्ति पार्टी खोलेर त्यसका अध्यक्ष छन् । उनी सर्लाहीका स्थायीबासी हुन् भने काठमाडौँ केन्द्रीत राजनीतिमा सिंगो जीवन बिताएका छन् । 

केवलकार विरोधी अभियानमा सहयोग गर्ने भन्दै उनले पाथिभरा मन्दिर क्षेत्रसम्मको पदयात्रा गर्ने बताएका छन् । 

उनीसंगै तराइ मधेश केन्द्रीत राजनीति गरिरहेको उन्मुक्ति पार्टी, जसपा नेपालको जनबर्गीय संगठनसहित १० वटा रजानीतिक दल र पहिचानबादी मोर्चा पनि यो आन्दोलनमा सँगसँगै छन् । 

स्थानीय जनप्रतिनिहरु भने हाल जारी आन्दोलनमा स्थानीय जनताको सहभागिता नै नरहेको दाबी गरिरहेका छन् । उनीहरुले केवलकार आन्दोलन सफल भए प्रदेश नामाकरणको अभियानलाई पुनः जगाउन सकिन्छ भन्ने राजनीतिक निष्कर्षसहित अभियन्ताहरुले ‘ताप्लेजुङको शान्त तलाउमा ढुंगा हान्न खोजेको’ आरोप समेत लगाएका छन् । 

केबलकार निर्माण हुने फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई आफ्नो वडाका शतप्रतिशत जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर व्यग्र प्रतीक्षामा रहेको बताउँछन् । उनले पत्रकार सम्मेलनमै नो केबलकार भन्नेहरु जिल्लाबाहिरका रहेको भन्दै उनले केबलकार निर्माणमा ढिला गर्न नहुने बताए । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

फुङलिङ नगरपालिका ९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न केही राजनीतिक स्वार्थमा लागेका व्यक्तिहरु सक्रिय रहेको पत्रकारसम्मेलनमा बताए । पत्रकार सम्मेलनमा वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update