
काठमाडौँ । नेपालका अधिकांश महिलाहरु आधा आकाशको नारा लगाउँछन् । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर देशभरका ७५३ स्थानीय तहमध्ये कैलालीको लम्कीचुहा नगरपालिका भने ‘आधा होइन पुरा आकाश’ बनेको छ ।
लम्कीचुहा नगरपालिकाकी मेयर हुन् शुसीला शाही । उनी स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार थिइन् । शाहीले गठबन्धनका तर्फबाट १२ हजार ७१३ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तथा यस अघिका नगरप्रमुख महादेव बजगाईलाई हराएर महिला मेयर बनिन् ।
नगरको उपमेयर छिन् जुना चौधरी । चौधरीले ११ हजार ७०८ मत ल्याएर जानकीकुमारी सिंहलाई हराएर उपमेयर बनिन् । उनले हराएकी उम्मेदवरा नेकपा माओवादी केन्द्रकी हुन् ।
शाही २०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् भने उपमेयर विजयी चौधरीले स्थानीय राष्ट्रिय नमूना मावि मोतिपुरमा १७ वर्ष शिक्षण गरेर जनप्रतिनिधि बनेकी हुन् ।
मेयर र उपमेयर मात्र होइन लम्कीचुहाको प्रशासनिक नेतृत्वसमेत यतिबेला महिलाको हातमा छ । नगरपालिकामा गत भदौदेखि सुषमा महता केसी प्रमुख प्रशासकीय अधिकृत छिन् ।
नगरपालिकाका सूचना अधिकारी भानुभक्त उपाध्याय देशभरकै स्थानीय तहमध्ये चम्कीचुहा महिला प्रतिनिधित्वका हिसावले नमूना रहेको बताउँछन् ।
यतिसम्मकी १० वटा वडा रहेको नगरपाकिलामा ४ वटा वडाका सचिव त महिला नै छन् । उपाध्यायका अनुसार वडा नम्बर २, ४, ९ र १० का वडासचिव महिला छन् ।
नगरपालिकाको न्यायिक समितिका ३ जना सदस्यहरु महिला छन् । उपमेरको संयोजकत्वमा रहने यो समितिको सदस्यमा वडा नम्बर ५ की वडाअध्यक्ष माया विष्ट र कार्यपालिका सदस्य मिना चौधरी सदस्य छन् ।
स्थानीय तह निर्वाचनमा लम्कीचुहामा नेपाली कांग्रेसका ५ जना, नेकपा एमालेका २ जना तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना वडाअध्यक्ष छन् ।
नगरपालिकाको रोजगार संयोजक, स्वास्थ्य शाखा प्रमुख, न्यायिक समिति शाखा प्रमुख, इन्जिनियरलगायतका पदमा समेत महिलाकै नेतृत्व छ ।