Odapalika - The Fourth Estate - चौथो अंग
माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’, यी पालिकाले दिए सार्वजनिक बिदा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै धमाधम सार्वजनिक विदा घोषणा गरेका छन् । 

गत वर्ष १३ पुसमै सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउने निर्णय खारेज गर्ने निर्णय गरे पनि माओवादी केन्द्रले जितेका स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । 

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

‘प्रस्तुत विषयमा मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीप राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जनयुद्ध दिवस मनाउन भन्दै गोरखाको गण्डकी गाउँपालिकाले पनि फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेको छ । सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक दिन बिदा दिने निर्णय गरिएको जनाएको हो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

बाग्लुङको ताराखोला गाउँपालिका तथा रोल्पाको माडी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निणृय गरिसकेका छन् । 

खोटेहाङ गाउँपालिकाले  पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ ।  गाउँपालिकाले सूचना जारी गरी बिहीबार एक दिनका लागि मातहतका निकायमा बिदा हुने जानकारी गराएको हो । सूचना अनुसार विद्यालयहरू, स्वास्थ्य संस्थाहरू र मातहतका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा गर्ने उल्लेख छ ।

रोल्पाको सुनछहरी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’  मनाउन सार्वजनिक बिदा दिएको छ । यी पालिकाहरुले तत्कालीन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update