Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा 

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा काम विशेषले पुग्नुभयो भने गज्जवको दृष्य देख्नुहुनेछ । अध्यक्ष दाहिने फर्केर बसेका छन् भने उपाध्यक्षलाई देखेपछि देव्रेतिर हेर्छन्, उपाध्यक्ष बसिरहेकी छिन् भने अध्यक्ष आएपछि उठेर हिड्छिन् । 

अध्यक्ष गणेशलाल श्रेष्ठ र उपाध्यक्ष शर्मिला बिसुराल दुबै २०७९ सालमा भएको स्थानीय तह उपनिर्वाचनमा क्रमशः माओवादी र कांग्रेसको तर्फबाट गठवन्धन बनाएर चुनाव लडे । दुबै जिते । तर केन्द्रमा गठबन्धन फेरिएसँगै पानी बाराबारको अवस्थामा छन् । 

यो पानी बाराबारको असर माओवादीले १ फागनुमा मनाउने ‘जनयुद्ध दिवस’मा समेत राम्रैसँग देखियो । अध्यक्ष श्रेष्ठले जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदाको घोषणा गरे । 

उनको घोषणालगत्तै उपाध्यक्ष बिसुरालको अर्को विज्ञप्ति आयो, विज्ञप्तिको आशय छ– जनयुद्ध दिवसमा बिदा छैन, सबै कार्यालय आउनू । अदालतले बिदा नदिनू भनेकाले यो आदेश सबैले मान्नू । 

सबैभन्दा पहिला हेर्नुहोस् दुबैले जारी गरेको बिदा दिने र नदिने विज्ञप्ति 

बिदा दिने अध्यक्षको विज्ञप्ति

bida-pre-1739445325.jpg
बिदा नदिने उपाध्यक्षको बिज्ञप्ति 

bida-1739445344.jpg
कुम्भमेलाबाटै बिदा घोषणा 

जगुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ यतिबेला भारतको प्रयागराजमा कुम्भमेलामा छन् । उनी गत सोमवार कुम्भमेलामा जाने भन्दै गाउँपालिका छाडेर हिडेका छन् । 

श्रेष्ठ कुनैबेला धर्म ढोँग हो भन्दै हिड्ने गरे पनि हाल भने प्रयागराजमा कुम्भमेलामा छन् ।  स्थानीय सरकार संचालन ऐनमा प्रमुख या अध्यक्ष सात दिन भन्दा बढी कार्यालयमा अनुपस्थित भएमा उपप्रमुख या उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ । 

तर अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई कुम्भमेलामा जानुअघि कार्यवाहक दिएका छैनन् । बरु उनले भारतको प्रयागराजबाटै ३० फागुनको मितिमा १ फागनुमा जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णयसहितको पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरे । 

श्रेष्ठ सात दिनअघि प्रयागराजबाट फर्किन्छन् या फर्किन्नन् भन्ने विषयमा उपाध्यक्षले पनि अनविज्ञता प्रकट गरिन् । वडापालिकाले सोधेको प्रश्नमा उनको जवाफ छ, ‘खै अध्यक्षज्यू कुम्भमेलामा जानुभएको रे, मलाई कार्यवाहक दिनुभएको छैन, भारतबाटै बिदा दिने निर्णयमा हस्ताक्षर गर्नुभएछ मैले स्थानीय सरकारको न्याायिक समिति संयोजकसमेतको हैसियतमा अदालतको आदेश पालन गरौँ भनेर आह्वानसहित बिदा छैन भनेर निर्णय गरेकी हुँ ।’ 

उपाध्यक्षले बिदा छैन भने पनि गाउँपालिकामा भने प्रयागराजबाटै अध्यक्षले गरेको निर्णय कार्यान्वयन भएको छ । पालिकामा उपाध्यक्षबाहेक एकजना पनि कर्मचारी उपस्थित भएनन् । सवै वडा कार्यालय र पालिकाभित्रका सबै सरकारी कार्यालय र संस्था बिदामा छन् । 


 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update