Odapalika - The Fourth Estate - चौथो अंग
मधेश सरकारले शिक्षक अभाव टार्न स्वयंसेवक शिक्षक खटाउने 

काठमाडौँ । मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अंग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।

सामुदायिक विद्यालयका शिक्षक सेवानिवृत्त हुँदै जाने र नयाँ दरबन्दी व्यवस्थापन नहुँदा यहाँको पठनपाठन नराम्ररी प्रभावित गरेको अवस्थालाई तत्काल सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारी बढाइएको हो । 

यस प्रयोजनका लागि प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले १३२ जना स्वयंसेवक शिक्षकको दरखास्त आह्वान गरिसकेको छ । विद्यालय शिक्षालाई सवल, सुदृढ र परिणाममुखी बनाउन प्रारम्भिक पक्ष नै शिक्षक हुने हुँदा यसको अभाव सम्बोधनका लागि काम अघि बढेको प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन् ।

यसका लागि दरखास्त आह्वान भइसकेको हुँदा चाँडै छनोट प्रक्रिया पूरा गरेर विद्यालयमा शिक्षक पठाइने तिवारीले बताए ।

यस चरणमा प्रदेशका नमूना विद्यालय र शिक्षक अभाव भएका माध्यमिक विद्यालयमा प्राथमिकता निर्धारण गरेर शिक्षक पठाइने मन्त्रालयको तयारी छ ।

प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्थाले विषयगत शिक्षक अभाव र विद्यार्थी अनुपातमा शिक्षक अभावको दुवै अवस्थाको सम्बोधन हुने मन्त्रालयको ठम्याइ छ । अहिलेको पहिलो चरणमा एसइईमा अधिकांश विद्यार्थी अनुत्तिर्ण हुने गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयका दक्ष शिक्षकको छनोट हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update