
काठमाडौँ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरुको आन्तरिक झगडाका कारण रोहिणी गाउँपालिकाका एकजना कर्मचारी बैठक कक्षमै पिटिएका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा आज भएको कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आक्रमण गरी घाइते बनाएका छन् ।
लामो समयदेखि अध्यक्ष एकातिर र उपाध्यक्षसहितका ४ जना वडाअध्यक्ष र केही कार्यपालिका सदस्य एकातिर हुँदा पालिकाको कामकाज समेत प्रभावित छ ।
आज भएको बैठकमा शिक्षक नियुक्ति सम्बन्धी विवादमा छलफलका लागि बोलाइएका शाखा प्रमुखमाथि वडाअध्यक्षले हातपात गरेका हुन् । हातपातका कारण घिमिरे घाइते भएका छन् ।
घिमिरे घाइते भएपछि पालिकाका कर्मचारीले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै वडाअध्यक्षमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले वडाअध्यक्षमाथि कारवाही नभए कार्यालयको कामकाज ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।
यता गत २ फागनमा गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाढी तोडफोड भएको छ । मध्यरातमा भएको यो तोडफोडमा अध्यक्षले असन्तुष्ट वडाअध्यक्ष र उपाध्यक्षलाई दोष दिएका छन् ।
उपाध्यक्ष शिवकान्ती चमार सहित वडानम्बर १,२,३,४ र ७ का वडाअध्यक्षहरु अध्यक्षले मनपरी गरेको, नियमविपरित काम गरेको भन्दै लामो समयदेखि कार्यपालिका बैठकको मागमा थिए ।
उनीहरुले शिक्षक नियुक्तिमा चलखेल भएको धार्मिक दंगा मच्चाउन खोजेको जस्ता आरोपसहित अध्यक्षलाई कारवाही गर्न माग गर्दै प्रमुख जिलला अधिकारीलाई निवेदनसमेत दिएका थिए ।
एकपछि अर्को विवाद वढ्दै जाँदा आज कार्यपालिका बैठकमै अध्यक्ष र शिक्षा शाखाका प्रमुखप्रति असन्तुष्ट वडाअध्यक्षले हातपात गरेका हुन् ।