Odapalika - The Fourth Estate - चौथो अंग
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको  सफलताका कथा 

म्याग्दी । रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरिरहेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि उनले नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती थाले । करिब १५ रोपनी बारीमा लगाएको आलु खनिसकेर उनले यतिवेला बारीमा  सिमी रोपेका छन् ।

छन्त्यालजस्तै वडाका २१ घरधुरीले परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका छन् ।

चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयवासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।

जिल्ला कृषि ज्ञान केन्द्र र रघुगंगा गाउँपालिकाले समेत कुइनेमङ्गलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन् । गाउँको करिब १ हजार २०० रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिए ।

आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उनले बताए ।

बारीभरि थाक्रोमा सिमी लहलह छन् । सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न ५ देखि ६ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जन सहज बनेको छ ।  

३ महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताइन् ।

सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मङ्गलेखानीसम्म सडकको पहँुच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको छ ।

गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ । गाउँबाट सिमी पनि निर्यात हुन थालेको  । 

गाउँमा आलुबाट मात्रै वार्षिकरूपमा  ६० लाख रुपैयाँ बढी नगद भित्रने गर्छ । यो वर्ष विगत वर्षको तुलनमा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताइन् ।

परीक्षणको रूपमा गरिएको सिमीखेती सफल भएपछि ३ वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिकरूपमा खेतीलाई विस्तार गरिएको छ ।

गाउँका हरेक घरले ३ देखि ५ टनसम्म आलु उत्पादन गर्छन् । आलुखेती गरेको अधिकांश जमिनमा अहिले सिमीखेती गरिएको छ । हरेक घरले २ देखि ८ मुरीसम्म सिमी उत्पादन गर्छन् । 

यहाँ उत्पादन भएको सिमी प्रतिपाथि ६०० रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्ष रघुगङ्गा गाउँपालिकाले मङ्गलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो ।

गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update