Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब 

म्याग्दी । प्राकृतिक उपचारस्थलका रुपमा चर्चित म्याग्दीको सिङ्गा तातोपानी कुण्डले १ वर्षमा १ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । 

आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । 

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि प्रयोग भइरहेको छ । 

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार  बिरे नूनको गन्ध नआउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ ।

गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले यहा स्नान गरेका थिए । बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ । 

चन्दाबापत ४ लाख १६ हजार, मन्दिरको भेटी ५ लाख ३० हजार, आजीवन सदस्यताबाट ३ लाख ८ हजार र विभिन्न बैंकमा मौज्जाद रकमको ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको समितिका पदाधिकारीले बताएका छन् । 

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए । 

कुण्डमा एक पटकमा ३५० देखि ४०० जनासम्मले स्नान गर्न सक्छन् । ७ दिन स्नानका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शूल्क तोकिएको छ । 

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा १० लाख ८९ हजारसहित कूल १ करोड ३६ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update