Odapalika - The Fourth Estate - चौथो अंग
केवलकार बनाउन माग गर्दै फुङलिङ नगरपालिकामा स्थानीयको प्रदर्शन 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । 

आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । 

स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् । ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । 

ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो । 

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् । 

पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २)७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । 

केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ । केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update