
काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा शुसासन समितिका २७ जना सदस्यहरुको मोवाइलमा सोमबारदेखि एकनासको सन्देश आइरहेको छ ।
सन्देशमा कर्मचारीको हितमा काम गरिदिन आग्रह हुन्छ । राज्य व्यवस्था समितिका एकजना सदस्य भन्छन्, ‘१० वटा जति एउटै व्यहोराका सन्देश आएका छन्, ती सबै कर्मचारीले पठाएका हुन् ।’
के हो त सांसदको फोनमा बजेको सन्देश ?
संसदको राज्य व्यवस्था समितिमा यतिवेला संघीय निजामती सेवा विधेयकका विषयमा दफावार छलफल चलिरहेको छ । छलफलका क्रममा सरोकारवाला विभिन्न निकाय र सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमाथि छलफल र निर्णय भइरहेको छ ।
यही क्रममा नायव सुव्वाहरुले विभिन्न ७ वटा विषय उठाएर सो विधेयकमा आफ्ना सरोकार समावेश गर्न भन्दै एसएमएस गरिरहेको बताएका छन् । उनीहरुले ‘नासुका आँशु’, पुछिदिन भन्दै धमाधम एसएमएस गरिरहेका छन् ।
देशभरका नायव सुव्वाहरुलाई राज्यव्यवस्था समितिका २७ जना सांसदहरुलाई पालैपालो आफ्ना माग सम्झाउने गरी एसएमएस पठाउन भनिएको निजामती सेवामा राजपत्रअनंकित कर्मचारी संरक्षण अभियान चलाइरहेका एकजना नायव सुव्वाले भने ।
उनका अनुसार सांसदहरुलाई पठाइएका सन्देश निम्न छन् ।
१. सहसचिव र उपसचिवको खुल्ला तर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस् ।
२. राजपत्रांकित तृतीय श्रेणीको पदपुर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्र्धाको व्यवस्था गरियोस् ।
३. हाललाई ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १० वर्ष सेवा अवधि कर्मचारीलाई १ श्रेणी बढुवाको व्यवस्था गरियोस् १
४. रा.प. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौं तहलाई कायम गरियोस् ।
५. तिनै तहमा कार्यरत कर्मचारीहरुलाई ‘निजामती कर्मचारी’ को परिभाषामा समेटियोस् ।
६. तिनै तहमा पूर्वानुमान योग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस् ।
७. क्षतिपूर्ति सहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवनयापनका लागि आवश्यक सेवा, सुविधाको सुनिश्चित गरियोस् ।