Odapalika - The Fourth Estate - चौथो अंग
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने 

काठमाडौँ । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारी संस्थाको व्यवस्थापन खर्चको जिम्मा सरकारले लिने भएको छ । 

सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा  धान खरिद गर्न इच्छुक सहकारीलाई  सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ ।

परियोजनाले एक सूचनामाफृत सूचीकृत हुनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मातहतका जिल्लास्थित कार्यालयमा सम्पर्क गर्न भनेको छ । 

सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिदिएको थियो । यसैगरी मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकिएको छ ।

यो मूल्यमा किसानहरुबाट धान खरिद गर्ने सहकारी संस्थाहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यवस्थापन खर्च उपलब्ध गराउने छ । 

‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०७७’ बमोजिम सहकारी संस्थाहरुलाई व्यवस्थापन खर्च उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सूचनामा उल्लेख छ । 

सूचिकृत सहकारी संस्थाले खरिद गरिएको धान भण्डारणका लागि नेपाल सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदामहरु लगायत नेपाल सरकार, प्रदेश सरकार वा सरकारी निकायका भण्डारणका लागि उपयुक्त संरचनाहरुको उपयोग गर्न सकिने गरी निर्देशिकासमेत बनाइएको छ । 

notice1694916364.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update