Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीको सुरक्षा माग्दै प्रधानमन्त्री कार्यालय पुगे कर्मचारी 

काठमाडौँ । स्थानीय तहमा कार्यरत कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधिमाथि कारवाही माग्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले सरकार गुहारेको छ । 

संगठनले आज मुख्यसचिव एकनारायण अर्यालमार्फत कार्यस्थलमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हो । 

संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

ज्ञापनपत्रमा तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको भन्दै कारवाहीको माग गरेको छ । 

यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका थिए । यसरी कर्मचारीमाथि दैनिक आक्रमण हुन थालेपछि सुरक्षाको प्रत्याभूति नभएको संगठनको भनाइ छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरू माथि गम्भीर अवस्थामा पुग्ने गरी गुन्डागर्दी शैलीमा कुटपिट गर्नु कानुनी राज्यको ठाडो उपहास हो ।’

ज्ञापनपत्रमा कर्मचारीमाथि कार्यस्थलमै भएका कतिपय घटनाले कर्मचारीको सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख छ । यस्तो घटनाले कर्मचारीको मनोबल घट्न गइ सेवाप्रवाह समेत प्रभावित भएको भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update