Odapalika - The Fourth Estate - चौथो अंग
दरवारमार्गमा जस्तै ३३ हजार वर्गमिटर फुटपाथ चम्काउने यस्तो छ काठमाडाैँ महानगरको योजना 

काठमाडौँ । दरवारमार्गको फुटपाथमा महंगो मार्वल विछ्याएको भन्दै आलोचना खेपिरहेको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा फुटपाथ र सार्वजनिक खुला स्थलमा ढुङ्गा बिछ्याउने भएको छ । 

महानगरले ३२ हजार ८५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएको जनाएको छ । 

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो । 

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५० रुपैयाँ खर्च हुने अनुमान छ । 

सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा विछ््याइसकिएको छ । 

वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा काम सकिएको महानगरले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update