Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको आयोजनामा स्वयम्भु महोत्सव, यस्ता छन् आकर्षण 

काठमाडौँ । स्थानीय पहिचान र सम्भावना प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा प्रथम ‘स्वयम्भू महोत्सव’ सुरु भएको छ ।

स्वयम्भूको भुइँखेल चौर र धर्मचक्र पार्कमा सुरु भएको उक्त महोत्सवको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उद्घाटन गरे । 

सो क्रममा उनले स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रूपमा चित्रण गरे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन् । 

काठमाडौँ महानगरपालिका–१५ को प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठमन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन हुने वडाध्यक्ष ईश्वरमान डङ्गोल बताउँछन् ।

महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफूल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनीमा राखिएका छन् । महोत्सवमा करिब ६० कक्षबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ ।  

परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्युपर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिएको छ । 

मौलिक खानाका कक्ष, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षणका रूपमा रहेका छन् । महोत्सव यही फागुन १७ गतेसम्म चल्नेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update