Odapalika - The Fourth Estate - चौथो अंग
५ श्रष्टालाई काठमाडौँ वडा २२ को सम्मान 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्धनमा योगदान गर्ने ५ जनाका साहित्यकारहरुलाई सम्मान गरेको छ । यो वर्ष अन्तर्राष्ट्रिय मातृभाषा रजत जयन्तीका रुपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा वडाले ‘कविता बाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेर वडाका साहित्यकारहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले, भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताए । पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनु पर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । राज्यबाट भाषा लोप हुन नदिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । 

वडा नम्बर २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले वहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गरे । काठमाडौँ महानगरपालिकाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै उनले भने, ‘काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।’

सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नविन चित्रकार र कवि श्रीराम श्रेष्ठ छन् । 

कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गरेका थिए । कथाकार सुवर्णकेशरीले लेखेको ‘इल फपुइकी’ जापानी, अंग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ । नेपाल भाषा मिसा खलःमा आवद्ध रहेर उनले नेपाल भाषाको प्रवर्धनमा काम गरेकी छन् । 

निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष थिए । उनका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्वपूर्ण मानिन्छन् । 

कवि नविन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुन् । यस्तै नेपाल भाषा कविता दबूः लिजःयाका अध्यक्ष हुन् । ‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता संग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रुपमा परिचित छन् ।

सन् १९९९ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को महासभाले भाषिक विविधता र बहुभाषिक शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने घोषणा गरेको हो । भाषा अधिकारका लागि यो दिवसलाई महत्वका साथ लिने गरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update