Odapalika - The Fourth Estate - चौथो अंग
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशभरका ६ हजार भन्दा बढी वडाहरुमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाले देशभरका सबै वडामा चैत मसान्तभित्रमा यसता भेला गरिसक्ने गरी निर्णय गरेको हो । शनिबारदेखि काठमाडौँमा सुरु भएको विज्ञसहितको भेलालाई आगामी दिनमा पनि निरन्तरता दिने उनीहरुको निर्णय छ । 

स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी जनप्रतिनिधिको तर्फबाट ९ जनाले प्रतिवेदन पेश गरेर सोमाथि छलफल भएपछि पार्टि अध्यष पुष्पकमल दाहाल प्रचण्डले भेला समापन गरेका हुन् । 

भेलालाई समापन गर्दै प्रचण्डले विज्ञले दिएको सुझाव, केन्द्रीय समिति बैठकले पारित गरेको दस्ताबेज, पार्टीको घोषणापत्रको आधारमा काम गर्न प्रतिनिधिहरूलाई निर्देशन दिए ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले स्थानीय तहमा समाजवाद निर्माणका लागि भेला भएको भन्दै  माओवादीले जितेका पालिकालाई ‘रोल मोडेल’ बनाउने प्रतिवद्धता जनप्रतिनिधिबाट आएकोब ताए । 

उपाध्यायका अनुसार स्थानीय तहमा, सुशासन र समृद्धिको पक्षमा जनताले प्रश्न उठाउन नसक्ने गरी राम्रो काम गर्न अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।

प्रचण्डले कांग्रेस–एमालेको तुलनामा माओवादीले जितेका प्रतिनिधिमाथि कम प्रश्न उठेको बताउँदै कहीँ कतै प्रश्न उठ्ने उठेका छन् भने अब सोच्ने तरिकै बदल्न निर्देशन पनि दिएका छन् । 

भेलामा प्रतिनिधिले आ–आफ्ना पालिकामा भएका अनुभव, सेवा प्रवाहमा देखिएका समस्या, कानुनी तथा वित्तीय अप्ठ्याराबारे रिपोर्टिङ गरेका थिए ।

भेलामा माओवादीले जितेका १२३ पालिका प्रमुख र अध्यक्ष र १३४ उपप्रमुख र उपाध्यक्ष, सम्बन्धित पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी थिए । भेलामा विज्ञहरूले स्थानीय तहका विकास मोडेलबारे अवधारणा राखेका थिए । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विगतमा अपनाइएका विकास मोडेल कसरी असफल भयो भन्ने विषयमा धारणा राखेका थिए । यसै गरी विमल फुयाँलले शैक्षिकसम्बन्धी र गोकर्ण भट्टले आइसिटी क्षेत्रबारे धारणा राखेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update