
काठमाडौँ। ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै आन्दोलन गर्ने अधिकांश व्यक्तिहरु बाहिरी जिल्लाको रहेको तथ्य खुलेको छ ।
आन्दोनलका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अधिकांश व्यक्तिहरु सो जिल्लाको नभएको तथ्य सार्वजनिक भएसँगै बाहिरी जिल्लाबाट सो स्थानमा गएर केबलकार निर्माणको विरोध गरेको तथ्य खुलेको हो ।
निर्माणाधीन केबलकारको विषयलाई लिएर पाथीभरा क्षेत्रमा पर्ने विरेन्द्रचोकमा नो केबलकार र प्रहरीबीच झडप भएको थियो । सो झडपका क्रममा प्रहरीले १५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएकामध्ये ताप्लेजुङका स्थानीय उनी मात्रै हुन् ।
प्रहरीले फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका– ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङलाई पनि नियन्त्रणमा लिएको छ ।
हिलिहाङ गाउँपालिका– ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका –५ घर भई इलाम नगरपालिका– ७ निवासी ५१ वर्षका योगेन्द्र लावती पनि पक्राउ परेका छन् । यस्तै, आठराई गाउँपालिका– ७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा भन्ने निर्मला बराल (दर्नाल) पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् । ग्रामथान गाउँपालिका–६ मोरङ घर भई हाल सुन्दरहरैचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
शनिवार साँझ नो केबलका समूह र प्रहरीबीच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरी सहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये १ जना प्रहरी र ३ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको छ भने केही प्रहरीहरूको उपचार जारी रहेको छ ।
नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्ला बाहिरबाट आएका सयौँ आन्दोलनरत पक्षले शनिवार साँझ फुङलिङमा प्रदर्शन गरेका हुन् । पाथीभरा स्थित काफ्ले पाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी शनिवार साँझदेखि सदरमुकाम केन्द्रित भएका भएका थिए । अहिले फुङ्लिङमा निषेध आज्ञा जारी गरिएको छ ।