Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । उच्च अदालत जनकपुरको आदेश बोकेर कार्यालयमा हाजिर गर्न पुगेका धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन् । 

मेयर बेचन दासका छोराबाट गत २८ माघमा कुटिएका साहलाई मेयरसहितको करारका कर्मचारीको टोलीले कार्यालय प्रवेशमा रोक लगाएको हो । 

गत २ माघमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएलगत्तै साह र मेयर दासबीच बिवाद बढेको थियो ।विवाद बढ्दै जाँदा साहले नगरपालिकामा कार्यरत ८० जना कर्मचारीमाथि कारवाही गरिदिए । उनले कसैलाई वर्खास्त गर्ने, कसैैलाई स्ष्टीकरण सोध्ने, कसैको तह र ग्रेड रोक्का गरिदिनेलगायतका सजाय गरिदिएपछि उनीसँग कर्मचारी रुष्ट थिए । 

कर्मचारी रुष्ट रहेकै बेला एकजना शिक्षिकालाई हाजिर गराएको विषयमा मेयरका छोरासँग उनको विवाद भयो । विवाद बढ्दै जाँदा उनीमाथि हातपात भयो । हातपातपछि प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग्दै जिल्ला प्रहरी कार्यालय पुगेका साहले त्यहाँबाट सुरक्षा नपाएको भन्दै अदालतमा रिट दायर गरे । 

उनको रिटमा सुनवाई गर्दै उच्च अदालत जनकपुरले निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यालयमा हाजिर गर्न अवरोध नगर्नू र नगराउनू भन्ने आदेश दियो । 

यो आदेश बोकेर आइतवार कार्यालय पुगेका साहलाई कर्मचारीहरुले नारावाजी गरेर कार्यालय प्रवेशमा रोक लगाएका हुन् । कार्यालय प्रवेश नपाएपछि आफुले बिदेशको माटोलाई ढोगेर रुँदै फर्किएको साह बताउँछन् । 

उनले मेयरको आफुखुसी निर्णयमा अंकुश लगाउन थालेकै कारण आफुमाथि प्रहार भएको बताएका छन् । मेयरले कम मूल्य पर्ने ब्ल्याङ्केटलाई बढी मूल्यमा खरिद गर्न दवाव दिएकोलगायतका अनियमितताका काम भएको दाबी गर्दै आएका छन् । र यो काममा उनकै भाषामा मेयरका झोले कार्यकर्ता परिचालन गरिएका कारण त्यस्ता कर्मचारीलाई जागिरबाट निकालिएको हो । 

यो विवादमा अदालतले फागुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल नभएसम्म साहलाई कार्यालयमा निर्वाध रूपमा काम गर्न दिन अदालतको आदेश छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update