
काठमाडौँ । कपिलवस्तुको शिबराज नगरपाकिलाले निजी तथा सामुदायिक बनमा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नगरपालिका क्षेत्रभित्र बस्ने व्यक्तिलाई निजी जग्गा या सार्वजनिक जग्गामा रुख रोप्ने योजना ल्याए विरुवा खरिदमा लागेको रकम अनुदान दिने भनेको छ ।
बन प्राविधिक सुस्मिता खनालका अनुसार रुख रोप्न चाहने व्यक्तिले कम्तीमा एक सय वटा बिरुवा रोप्ने योजना ल्याउनुपर्नेछ भने ६० प्रतिशत काठजन्य र ४० प्रतिशत फलफुलजन्य बिरुवा रोप्ने प्रस्ताव गर्न सकिनेछ ।
यी विरुवा कम्तीमा एक कठ्ठा १७ धुर जग्गामा लगाउनुपर्ने नियम बनाइएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।
उनका अनुसार महिला दलित र विपन्न परिवारलाई प्राथमिकतामा राखेर अनुदान रकम उपलव्ध गराइने कार्यविधि छ । समृद्धिका लागि बन परियोजना अन्तरगत नगरपालिकाभित्रका सार्वजनिक या निजी जग्गामा रुख रोप्नेका लागि यो अनुदान दिन लागिएको हो ।
कुन विरुवा रोप्दा कित अनुदान पाइन्छ भन्ने विषयमा भने स्वीकृत मापदण्ड हेरेर अनुदान रकम दिने वन प्राविधिक खनालको भनाइ छ । विश्व बैँकको सहयोगमा यो परियोजना संचालित छ । विरुवाहरु बहुउपयोगी र मिश्रित प्रजातिको हुनुपर्ने नगरको भनाइ छ । यसका लागि रुख रोप्न चाहनेले २६ फागुनसम्ममा नगरपालिकामा प्रस्ताव पेश गरिसक्नुपर्ने नियम छ ।