Odapalika - The Fourth Estate - चौथो अंग
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ? 

काठमाडौँ । उच्च अदालत जनकपुरको आदेश बोकेर कार्यालयमा हाजिर गर्न पुगेका धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएको विषयले संसदमा प्रवेश पाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन् । 

उनले अदालतको आदेश पालना नभएको र मेयर बेचन दासका छोराबाट प्रमुख प्रशासकीय अधिकृतले कुटाइ खाएको विषयलाई गम्भीर रुपमा लिन भन्दै संसदको ध्यानाकर्षण गराएकी हुन् । 

मेयर बेचन दासका छोराबाट गत २८ माघमा कुटिएका साहलाई मेयरसहितको करारका कर्मचारीको टोलीले आइतवार कार्यालय प्रवेशमा रोक लगाएको थियो । 

गत २ माघमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएलगत्तै साह र मेयर दासबीच विवाद बढेको थियो । विवाद बढ्दै जाँदा साहले नगरपालिकामा कार्यरत ८० जना कर्मचारीमाथि कारवाही गरिदिए । उनले कसैलाई वर्खास्त गर्ने, कसैैलाई स्पष्टीकरण सोध्ने, कसैको तह र ग्रेड रोक्का गरिदिनेलगायतका सजाय गरिदिएपछि उनीसँग कर्मचारी रुष्ट थिए । 

कर्मचारी रुष्ट रहेकै बेला एकजना शिक्षिकालाई हाजिर गराएको विषयमा मेयरका छोरासँग उनको विवाद भयो । विवाद बढ्दै जाँदा उनीमाथि हातपात भयो । हातपातपछि प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग्दै जिल्ला प्रहरी कार्यालय पुगेका साहले त्यहाँबाट सुरक्षा नपाएको भन्दै अदालतमा रिट दायर गरे । 

उनको रिटमा सुनवाई गर्दै उच्च अदालत जनकपुरले निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यालयमा हाजिर गर्न अवरोध नगर्नू र नगराउनू भन्ने आदेश दियो । 

यो आदेश बोकेर आइतवार कार्यालय पुगेका साहलाई कर्मचारीहरुले नारावाजी गरेर कार्यालय प्रवेशमा रोक लगाएका थिए । कार्यालय प्रवेश नपाएपछि आफुले बिदेशको माटोलाई ढोगेर रुँदै फर्किएको साह बताउँछन् । 

यो विवादमा अदालतले फागुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल नभएसम्म साहलाई कार्यालयमा निर्वाध रूपमा काम गर्न दिन अदालतको आदेश छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update